भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएरै प्राथमिकताका आधारमा काम गर्ने पौडेलको भनाइ

0
2

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताउनुभएको छ।आज सोमबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ को विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद पौडेलले घोषणापत्र लेख्ने, प्रतिवद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोहीपनि नजोडिने बताउनुभयो । उहाँले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेताहरुलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने दावी गर्नुभयो । उहाँले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा कामहरु अघि बढाउन आफू प्रतिवद्ध रहेको पनि बताउनुभयो । उहाँले यसअघि विष्णुमतीमा मापदण्ड अनुसार करिडोर बनाउन किन रोकिएको भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले करिडोर बनेको खण्डमा रिङरोडको ट्राफिक जाम पनि कम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कतिपय सडकमा विद्युत प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप बिच्छ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको बताउनुभयो । उहाँले बिग्रिएका बाटोहरुको मर्मतका लागि आवश्यक पहल गरिरहेको बताउनुभयो। नेता पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा बाटो र खानेपानीको समस्या धेरै रहेको बताउनुभयो । उहाँले आफूले निर्वाचनको बेलामा जनतासँग गरेका प्रतिवद्धताहरुलाई पूरा गर्नका लागि निर्वाचन क्षेत्रमा रहेका समस्या समाधानको पहलकदमी थालेको पनि बताउनुभयो । उहाँले सरकार सञ्चालन गर्ने हरेक दलहरुले एक घर, एक धाराको नीति लिएपनि काठमाडौंमा नै एक घर, एक धाराको नीति लागू गर्न नसकेको बताउनुभयो । नेता पौडेलले कर तिरेका नागरिकहरुले सुविधा पाउँ भनेर भन्नु असम्भव र नराम्रो नभएकाले नागरिकलाई अहिलेसम्म पनि सहजता प्रदान गर्न नसक्नु दु:खद भएको बताउनुभयो । नेता पौडेलले विष्णुमतीको मुहानदेखि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विष्णुमती करिडोर सडकलाई बनाउने, स्तरोन्नती गर्ने र कालोपत्रे गर्ने कुरामा आफू निरन्तर लागि पर्ने बताउनुभयो । विष्णुमती करिडोर सडक करिब १२ करोड रुपैयाँमा निर्माण हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here