ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण एकै दिन ३ हजार भन्दा बढीको मृत्यु

0
177

ब्रासिलिया – ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण एकै दिन ३ हजार जनाभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरूले २४ घण्टाको अवधिमा भाइरसको संक्रमणका कारण ३ हजार २ सय ५१ जनाको मृत्यु भएको पुष्टि गरेका बीबीसीले उल्लेख गरेको छ । यो भाइरसका कारण एकै दिन मृत्यु भएको हालसम्मकै ठूलो संख्या हो । बुधबार साँझसम्म भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९८ हजार ६ सय ७६ पुगिसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाइएको छ । यसअघि कोरोनाका कारण लकडाउन नगर्ने र मास्कको प्रयोगको आलोचना गर्ने राष्ट्रपति जैर बोल्सोनारोले आफ्ना कदमको बचाउ गरेका छन् । ‘हामीले निकै चाँडै सहजरुपमा हाम्रो जीवन निर्वाह गर्न थाल्ने छौं,’ देशभित्र र अन्तर्राष्ट्रिय स्तरमै निकै आलोचित बनेका बोल्सोनारोले बुधबार भने । तर त्यसको करिब ५ मिनेटपछि स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण ३ हजार २ सय ५१ जनाको ज्यान गएको जनाएको हो । कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा ब्राजिल दोस्रो प्रभावित मुलुक हो । ब्राजिलमा २४ घन्टाको अवधिमा ८० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै ब्राजिलमा संक्रमितको संख्या १ करोड २१ लाख ३० हजार नाघेको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा भाइरसका कारण ५ लाख ४३ हजार ८ सय ४९ जनाको मृत्यु भइसकेको छ । २९ करोड ९२ लाख ३३ हजारभन्दा बढी संक्रमित छन् । त्यस्तै संक्रमित संख्याका आधारमा प्रभावित देशहरूको सूचीमा भारत, रुस र फ्रान्स क्रमश: तेस्रो, चौंथो र पाँचौ स्थानमा छन् । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २७ लाख ३६ हजार ६ सय २१ जनाले ज्यान गुमाइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार १२ करोड ४३ लाख ३० हजार ४ सयभन्दा बढी संक्रमित भइसकेका छन् ।

साभार : ekantipur.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here