बाहिरबाट दबाब आयो भन्दैमा आफुले राजीनामा नदिने प्रधानन्यायाधीश जबराको जबाफ

0
15

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने न्यायाधीशहरूलाई जवाफ दिएका छन् । आज न्यायाधीशहरूसँग प्रधानन्यायाधीश जबराले करिब ४५ मिनेट छलफल गरेका थिए । सो क्रममा जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए । ‘मेरो संवैधानिक नियुक्ति हो । बाहिरबाट दबाब आयो भन्दैमा राजीनामा दिने कुरा हुँदैन । तपाईंहरुमाथि पनि प्रश्न उठेका छन्, के तपाईंहरु राजीनामा दिनसक्नुहुन्छ ?,’ जबराको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सडकको दबाबबाट न्यायालय चल्दैन । तपाईंहरुले पनि आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’ सर्वोच्चका १३ न्यायाधीशले सोमबार पूर्ण बैठक बहिस्कार गरेका थिए । न्यायालयमा संकट गहिरिँदै गएपछि बिदा बसेका दुई न्यायाधीश पनि सर्वोच्च अदालत फर्केका छन् । न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदी बिदा कटाएर मंगलबारबाट अदालत फर्केका हुन् । प्रधानन्यायाधीशसँग मंगलबार १५ जना न्यायाधीशहरु छलफलका लागि पुगेका थिए । सो छलफलपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । राजनीतिक नियुक्तिमा भागबण्डाका साथै न्यायिक स्वतन्त्रता र गरिमाविपरीत काम गरेको भन्दै यतिबेला प्रधानन्यायाधीश जबरा चौतर्फी आलोचनाको केन्द्रमा रहेका छन् । सोमबार न्यायाधीशहरूले प्रधानन्यायाधीशले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेका थिए । चार पूर्वप्रधानन्याधीश, पूर्व न्यायाधीशको र नेपाल बार पनि प्रधानन्यायाधीशको राजीनामा माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here