बालेन चीन भ्रमणमा नजानु उचित छ : रामहरि खतिवडा

0
4

काठमाडौं- संसद्को राज्यव्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले देश र जनतालाई सुशासनको अनुभूति दिने गरी क्रियाशील हुने बताएका छन् ।
‘संसदीय समिति मिनी पार्लियामेन्ट हो । समिति राम्ररी चले संसद्लाई सहजता हुन्छ । हामी यो वा त्यो, पक्ष, विपक्ष नभनी काम गर्छौं । दलगत, जातिगत, धर्मगत, सम्प्रदायगत नभनीकन काम गर्छौं । कसैलाई तर्साउने वा थर्काउने होइन मुलुक बनाउन लाग्छौं । मुलुकलाई नै सुशासनको अनुभूति दिने गरी क्रियाशील हुन्छौं । मूल विषयमा काम गर्छौं, विवादको विषय बनाउँदैनौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जाने बेला चीनले विवादित नक्सा जारी गर्नु आश्चर्यजनक भएको पनि सांसद खतिवडाले औंल्याए । उनले भने, ‘चुच्चे नक्सा संसद्को सर्वसम्मतिले पारित गरेको हो । भारत कूटनीतिक रुपमा समाधान गर्न तयार भएका बेला चीनले स्वीकार नगर्नु दुःखद हो । यसका निम्ति कूटनीतिक पहल गर्नुपर्छ । प्रधानमन्त्री प्रचण्ड फर्केर आउँदा समाधान हुने आशा गरेका छौं ।’
गलत नक्साका निकालेपछि चीन भ्रमणमा नजाने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कदम सकारात्मक रहेको पनि खतिवडाले बताए । उनले भने, ‘बालेनले गरेका कतिपय कुरामा हामी सकारात्मक छौं । हाम्रो समर्थन पनि छ । अरु कुरामा विमति होलान् तर हामी राष्ट्रियताका कुरामा एकमत छौं चीन भ्रमणका बेला प्रधानमन्त्रीले यसबारे स्पष्ट कुरा राख्नुपर्छ । चीन पनि नेपालको भूमिका बारेमा विवाद गरेर अघि बढ्ला भन्ने लागेको छैन ।’
प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणमा जाँदा ४० जनाको जम्बो टोली बनाउनु उचित नहुने खतिवडाको टिप्पणी छ । उनले थपे, ‘नाता, दाता, आसेपासे, वरपर, छरछिमेक राखेर मुलुकको जनसंख्याजति नै भ्रमण टोली बनाउँदा मुलुकको खर्च बढ्नुका साथै म्यासेज पनि राम्रो जाादैन । राज्यको सम्पत्ति दोहन गरेर मात्र सम्बन्ध राम्रो बन्ने होइन । विकास, समृद्धि र उपलब्धि हासिल हुने पनि होइन । त्यति ठूलो टोली जानु आवश्यकता छैन ।’
सांसद खतिवडाले एमसीसीको विरोध गरेर बुरुकबुरुक उफ्रनुको कुनै औचित्य नभएको पनि बताए । उनले भने, ‘एमसीसी कार्यान्वयन मुलुकका निम्ति ठूलो अवसर हो । एमसीसी कार्यान्वयन गर्दा अमेरिकन एजेन्ट, नगर्दा चाइनिज एजेन्ट हुने होइन । विदेशी सेना आउँछ भन्नु भ्रम सिर्जना गर्ने कुरा हो । यसमा विरोध गर्नु वा उफ्रेर हिँड्नुपर्ने आवश्यकता छैन । यसले विकास र समृद्धि रोक्ने काम हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here