बालबालिकालाई भिटामिन ए यहिँ असार २२ र २३ गते खुवाइँदै

0
176

काठमाडौँ – यही असार २२ र २३ गते ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड १९ को कारणले स्थगित गरेको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सुचारू गर्न लागिएको हो ।
कोरोना भाइरसको महामारीका कारण गत वैशाख ६ र ७ गते तय गरिएको कार्यक्रम मन्त्रालयले स्थगन गरेको थियो । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ ।
सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ए खुवाउँदै आइरहेको छ ।
जुकाको औषधि एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ९३ हजार १५२ बालबालिकालाई खुवाउने गरिन्छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिन्छ । यस्तै १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here