बाढीले बजार बगायो दुईको मृत्यु, १८ बेपत्ता

0
16

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको ठाडो सिंगार्चे खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिका–५ को जम्बु बजार बगाएको छ । भारी वर्षासँगै गएराति ११ बजेदेखि आएको बाढीले भोटेकोसी नदीलाई थुनेपछि पानीको बहाब बढेर जम्बु बजार सोहोरेको हो ।
बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका–५ निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव स्थानीयले बिहान पाँच बजे नै फेला पारेका छन् । बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको बाह्रबिसे नगरपालिकाका मेयर निम्फुञ्जो शेर्पाले जानकारी दिए ।
उद्धारमा सबै सुरक्षा निकायलाई परिचालन गरिएको शेर्पाले बताए । बाढीले जम्बु बजार, खाकदल बजारका १० वटा टहरासँगै दर्जनौं ठाउँमा सडक बगाएको उनले बताए । जुरेमा पहिरो आएकोले अरनिको राजमार्ग समेत अवरुद्ध छ ।
बाढीले मध्यभोटेकोसी जलविद्युत आयोजनाको लजिष्टिक गोदाम पनि बगाएको छ । कोदारी राजमार्गको जम्बुखण्ड बगाएकोले आवत–जावत बन्द छ । बाढीले सडक बगाएपछि बाह्रबिसे र तातोपानीको सम्बन्धबिच्छेद भएको छ । बाढीबाट बाँच्न सफल भएका स्थानीय गाउँभन्दा पाँच सय मिटरमाथि खेतमा गएर बसेका छन् ।
यसैगरी बाह्रबिसेका युधीर पौडेलले दिएको जानकारीअनुसार भोटेकोसी गाउँपालिकाको मार्मिङस्थित बुल्कोटे खोलाले एक घर बगाएको छ । बाह्रबिसे छेउमै रहेको खाकदल खोलामा बाढी आउँदा राती नै स्थानीय खाकदल बजार छोडेर भागेका छन् ।
भोटेकोसीमा आएको ठूलो बाढीले बाह्रबिसे तल्लो बजारको एक घर बगाएको छ । बाढीले मोटरेबल पुलको एक भागलाई धक्का दिइरहेकोले पुलमा पनि क्षति पुगेको छ । जम्बु बजार बगाएर गाउँ नै भोटेकोसीमा मिसिएपछि बाह्रबिसे बजारवासी घर छोडेर राति नै सुरक्षित ठाउँतर्फ भागेका छन् । लिपिङदेखि खाडिचौरसम्म रहेका तटीय क्षेत्रका स्थानीय घर छोडेर सुरक्षित स्थानतर्फ लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here