‘बाटो साँघुरो हैन, गाडी नै धेरै’

0
3

काठमाडौं- ‘बाटो साँघुरो भएको हैन, गाडी धेरै भएको हो, ‘बढ्दो सवारी जामबारे काठमाडौं स्कुल अफ ल का संस्थापक युवाराज संग्रौला भन्छन्, ‘सार्वजनिक यातायात सुलभ नहुने हो भने १० लेनको बाटो भए पनि सडक जाम घट्दैन।’ युवा र यातायातको विषयमा संग्रौलले बोलेको एउटा सानो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। नेपाली युवाको मनस्थिति र यातायातको गन्जागोललाई उनले सटिक ढंगले वर्णन गरेका छन्। ‘युवाहरू ठूला गफ गर्छन्, अनि बाबुको कमाइँबाट ६ लाख तिरेर साढे–गोरुजस्तो पल्सर चढ्छन्,’ उनले भने, ‘नेपाल बनाउने कुरा गर्ने युवाका यी पैसाहरू भारत र जापान पुग्छन्।’ सकारले कम्तीमा ५ हजार सार्वजनिक बस किनेर काठमाडौंदेखि धुलिखेलसम्म राम्रोसँग चलाइदिने हो भने यातायातका थुप्रै समस्या समाधान हुने उनको बुझाइ छ। तर गाडी ल्याउँदा आउने ‘२ सय ८० प्रतिशत करले नेताहरूको ४ करोडको गाडी किन्नुपर्ने’ विवशतका कारण पनि व्यवस्थापनमा समस्या आएको उनको बुझाइ छ। अब नयाँ सोच भएकाले नयाँ चेतनाका साथ काम गर्ने हो भने निजी सवारी होइन, सार्वजनिक सवारीमा विशेष ध्यान दिनुपर्ने उनको बुझाइ छ। ‘यस्तो भयो भने राजधानीमा बस्ने ३० लाखमाध्ये ३० लाखले नै सवारी किन्नुपर्ने समस्याको अन्त्य हुनेछ,’ उनले भनेका छन्, ‘तर सरकारले सार्वजनिक सवारीको व्यवस्थापन नगरी सडक फराकिलो बनाउँन खोज्दा समस्या झनै बल्झेको छ।’ संग्रौलाको भनाइ कोलम्बियाका प्रसिद्ध राजनीतिज्ञ एंव ट्राफिक इन्जिनियर इनरिक पेनालोसाले भनाइसँग पनि मेल खान्छ। उनले भनेका छन्, ‘सडक फराकिलो पारेर ट्राफिक व्यवस्थापन गर्छु भन्नु बलिरहेको आगोलाई मट्टितेल हालेर निभाउन खोज्नुजस्तै हो।’ ट्राफिक व्यवस्थापनका अन्य पाक्षलाई ध्यान नदिई सडक मात्रै चौडा बनाउने प्रवृत्ति अहिलेका नेपालको राजधानीको अवस्थासँग मेल खान्छ। सडक चौडा पार्ने अभियानमा भत्काउन मात्र अघि सर्ने सरकारी नियतले सडक केही फराकिलो त बनेको छ तर जाम घटेको छैन। ट्राफिक इन्जिनियर आशिष गजुरेलको पनि संग्रौलाको जस्तै बुझाइ छ। उनी पनि सडक चौडा मात्र बनाएर समस्याको समाधान ननिस्कने बताउँछन्। ‘सडक चौडाको अभियानसँग ट्राफिक व्यवस्थापनका अन्य पाटा पनि सक्रिय पार्नुपथ्र्यो,’ उनले भने, ‘त्यो हुन नसक्दा अवस्था झनै बिग्रेको छ।’ यातायातविज्ञ गजुरेल ट्राफिक जाम कम गर्न सहज उपाय बताउँछन्, ‘सार्वजनिक ठूला सवारीलाई प्रोत्साहन, साना निजीलाई निरुत्साहन।’ सर्वसाधारणको लागि सार्वजनिक सवारीसाधन सहज र सुविधायुक्त भए आफैं निजी सवारीसाधन कम हुने उनको बुझाइ छ। ‘सडक फराकिलो गरेर पनि केही हुनेवाला छैन,’ उनी भन्छन्, ‘जबसम्म ठूला सार्वजनिक सवारीलाई सडकमा ल्याउन सकिन्न।’ नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here