बाटो खन्न गएको डोजरमा तोडफोड र आगजनी

0
14

काठमाडौं – मोरङको पथरीशनिश्चरे वडा नं. ५ मा बाटो खन्न गएको डोजरमा तोडफोड र आगजनी गरिएको छ । आफ्नो बारी खन्नुपरेको भन्दै स्थानीय पदमदेवी उप्रेती र उनकी बुहारी बेनिशा चौलागाईंले डोजरमा आगजनी र तोडफोड गरेका हुन् ।

नगरपालिकाको निर्णय अनुसार वैशाख ४ गते स्थानीय, जनप्रतिनिधि र प्रहरीले बाटो खोल्न उक्त स्थानमा पुग्दा उप्रेती सासु–बुहारीले डोजरमा तोडफोड र आगजनी गरेका हुन् । आगजनी र तोडफोडबाट डोजरमा क्षति पुगेको छ । घटनापछि वडाध्यक्षसहित स्थानीयले जाहेरी दिए पनि इलाका प्रहरी कार्यालय पथरीले उनीहरूलाई पक्राउ गरेको छैन । घटना घटेको तीन दिन बितिसक्दा पनि प्रहरीले जाहेरी नलिई सहमति गर्न दबाब दिइरहेको वडासदस्य रेवत बस्नेत बताउँछन् ।

क्षतिपूर्ति र कारबाहीको माग गर्दै वडाध्यक्ष जोगबहादुर धिमाल, उपप्रमुख यमुना विष्ट बाँस्तोला र स्थानीयको उपस्थितिमा जाहेरी दिएका थिए । तर, प्रहरीले बेवास्ता गरेको वडाध्यक्ष धिमालले बताए । प्रहरीकै अगाडि डोजर जलाउन खोज्दा पनि नियन्त्रणमा लिन नसकेको उनले गुनासो गरे । नगरपालिकाको नक्सामा रहेको बाटो उप्रेती परिवारले भोगचलन गर्दै आएको र हाल बाटो आवश्यक भएर खन्न गएको वडाध्यक्ष धिमाल बताउँछन् । यता, इलाका प्रहरी कार्यलयका पथरीका प्रहरी नायब उपरीक्षक खड्काले भने जाहेरीका विषयमा छलफल भइरहेको र प्रक्रिया अघि बढ्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here