बल्ल जुर्‍यो कागजात खोतल्ने साइत

0
3

काठमाडौं- बोरामा कोच्याएर केशरमहल परिसरमा बेवारिसे बनाइएका शिक्षा निकायका कागजात खोतल्ने साइत बल्ल जुरेको छ। डेढ सयभन्दा बढी बोरामा रहेका ती कागजातलाई सोमबारदेखि छान्न थालिएको छ। दुई दिनमा काम लाग्ने कागजात अझैसम्म फेला पर्न सकेको छैन। ज्यालादारीमा तीन जना महिलालाई कागजात खोतल्न खटाइएको छ। काम लाग्ने वा नलाग्ने कागज छुट्टयाउने कार्यमा निकै सुस्त गति छ। गत साता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केशरमहल परिसरमा बेवारिसे बनाइएका कागजात व्यवस्थापन गर्न मन्त्रालयको पुस्तकालय समन्वय तथा अभिलेखालय शाखाका प्रमुख यादवचन्द्र निरौलाको संयोजकत्वमा छ सदस्यीय सामग्री व्यवस्थापन समिति गठन गरेको थियो। उपसचिव निरौलाले भने, “१५ दिनभित्र काम सक्ने योजना बनाएका छौँ।”सो कार्यका लागि मन्त्रालयबाट खटिएका कर्मचारीले खासै समय दिन सकेका छैनन्। मङ्गलबार अपराह्न काम लाग्ने कागजात छुट्याउन लागेका समितिका संयोजक निरौला र केशर पुस्तकालय प्रमुख सुरेश यादवलाई तुरुन्तै मन्त्रालयबाट बोलाइएपछि एक घण्टामै उनीहरू काम छाडेर मन्त्रालयतर्फ गएका थिए । केशरमहल पुनर्निर्माण कार्यमा संलग्न कर्मचारीका अनुसार चित्तबुझ्दो गतिमा काम भइरहेको छैन। “काम गर्दै थियौँ। मन्त्रालयले अपर्झट बोलायो। बीचैमा छोडेर जानुपर्ने भयो,” समितिका संयोजक निरौलाले भने। दुई दिनमा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको तीनवटा फोटो एल्बम र केही फाइल छुट्टयाइएको छ। पछि सो आयोगका कर्मचारीलाई बोलाएर सङ्कलन हुने कागजात जिम्मा लगाइने भएको छ। धेरैजसो कागजात काम लाग्ने अवस्थामा छैनन्। साढे तीन वर्षदेखि खुला आकाशमुनि मिल्क्याइएका ती कागजातमा पानी र शीतले निकै क्षतिपु(याएको छ। कागजात गलेर धुजाधुजा भइसकेका छन्। शिक्षासम्बन्धी कानुनका मोटा प्रतिवेदन निकै सङ्ख्यामा भए पनि ती प्रायः काम लाग्ने अवस्थामा छैनन्। विभिन्न कर्मचारीको नियुक्ति, साबिकको जिल्ला शिक्षा कार्यालयका भरपाई, औषधि उपचार खर्चका लागि निवेदन, छात्रवृत्ति पाएका विद्यार्थीको फेहरिस्तलगायतका कागजात निकै छन्। कतिपय बोरा बाहिर भएका कागजातमाथि कुल्चिँदा कामै नलाग्ने भएकाले महत्वपूर्ण भए पनि अब तिनलाई जोड्न सक्ने अवस्था नरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here