बन्द भयो तातोपानी नाका

0
8

काठमाडौं – चीनसंगको छोटो दूरीको उत्तरी तातोपानी नाका आजदेखि पाँच दिनका लागि बन्द भएको छ । पूर्ण रूपमा नाका सञ्चालनको तयारी गर्न आज (चैत २८) देखि बैशाख २ गतेसम्म बन्द हुने तातोपानी भन्सार प्रमुख दयानिधि केसीले जानकारी दिए। नाकाबाट दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ । कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह आजदेखि पाँच दिन अस्थायी रूप बन्द हुने भएको हो । साथै आगामी बैशाख १८ गतेदेखि तिब्बती क्षेत्र खासामा स्थानीय बजार व्यवस्थापन गरी पहिला जस्तै नाका सञ्चालन गर्ने तयारी रहेको छ । यस्तै, बैशाख १८ देखि नै हुम्लाको हिल्सा नाका पनि खुल्ने भएको छ । यसअघि यही चैत १८ गतेदेखि रसुवागढी नाका दुईतर्फी मानिसको आवतजावतसहित पूर्णरुपमा सञ्चालनमा आइसकेको छ । आंशिक रुपमा आयात निर्यात हुँदै आएपनि ३८ महिनापछि रसुवागढी नाकाबाट मानिसको आवागमन खुलेको हो । गत मार्च २९ मा तिब्बतको ल्हासामा नेपाल–चीन सीमा व्यापार संयन्त्रको बैठक बसेको थियो । सोही बैठकमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका नाकाहरू पूर्णरुपमा खुला गर्ने सहमति गरिएको थियो । चीनसँग जोडिएका सबै सीमा नाकाहरू कोभिड संक्रमण फैलिएसँगै बन्द गरिएका थिए । यसबीचमा केही समय एकतर्फी सामान पठाउने हिसाबले मात्रै सन्चालित रहेका नाकाहरू अब दुवैतर्फ पूर्णरुपमा सञ्चालन रहने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here