प्रहरीको बर्दी लगाएर लुटपाट गर्ने एक व्यक्ती पक्राउ

0
7

सल्यान – प्रहरीको बर्दी लगाएर व्यापारीबाट लुटपाट गर्ने एक व्यक्ती पक्राउ परेका छन् । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका १ कालापातल जङ्गलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बर्दी लगाई सोमबार व्यापारीबाट लुटपाट गर्ने ४ जना मध्ये १ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ‘लुटपाट गरे लगतै चारै जना भागेका थिए । त्यसपछि लुटिनेहरूले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीहरूलाई खोज्दै गए । घटना घटेकै राती ४ जना मध्ये एक जना रोल्पा रुन्टिगडी गाउँपालिका –८ गर्पा खोलाबाट पक्राउ परे,’ जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले भने । पक्राउ पर्नेमा रोल्पा सुनछहरी गाउँपालिका –७ का ३० वर्षीय तिलक वि.क.रहेका छन् । विकलाई सल्यान जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी थापाको भनाई रहेको छ । लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरूले कालापातलको जङ्गलमा गाडी रोकी कपुरकोटमा तरकारी किन्न आएका सेराज हलुवाईको तीन लाख लुटपाट गरेका थिए । ‘तरकारी खरिद गर्न आएका ती व्यापारीलाई पहिले एउटा बाइकमा आएका सशस्त्र र नेपाल प्रहरीको बर्दी लगाएका दुई जनाले चेकजाँच गर्नु छ भनेर रोके । त्यसपछि अर्को बाइकमा आएका अन्य दुई जना सशस्त्रको बर्दी लगाएकाले खुकुरी देखाएर तीन लाख लुटेर लगे,’ डिएसपी थापाले भने । पक्राउ पर्ने नेपाल प्रहरीको बर्दी लगाउने भएको उनले बताए । उक्त बर्दी जनयुद्धको समयको भएको उनको भनाइ छ । नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको बर्दीको दुरुपयोग गरी यस्ता विभिन्न आपराधिक क्रियाकलाप बढेकोले बर्दीको दुरुपयोग भएमा जानकारी भएमा प्रहरी कार्यालयमा सूचना दिन समेत जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । (साभार : रातोपाटि डट कम )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here