पहिलो चरणमा कांग्रेसलाई प्रधानमन्त्री दिनु नै सुल्टो बाटो भएको रमेश लेखकको भनाइ

0
3

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं कञ्चनपुर ३ का नवनिर्वाचित सांसद रमेशदत्त लेखकले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को सहकार्य असफल भइसकेको बताएका छन् ।
‘माओवादी केन्द्रको निर्णय कुन सन्दर्भमा केका लागि आएको हो भन्ने कुरा भोलि नै थाहा हुने कुरा भो । मुख्य कुरा हामीले संविधान र व्यवस्थाको रक्षाका लागि गठबन्धन बनाएका हौं । यसलाई नै निरन्तरता दिनुपर्छ । एमाले र माओवादी गठबन्धन असफल भइसकेका प्रयोग हो । उनीहरुले मिलेर चुनाव लडे र सरकार पनि बनाए । अब फेरि उही गठबन्धन गर्नु मुलुक र जनताप्रति धोका हो । फेरि मुलुकलाई जटिलतातिर लैजाने, अन्योल र अस्थिरता सिर्जना गर्ने हो । म अझै पनि त्यसो गर्नुहुन्न भन्ने पक्षमा छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लेखकले भने । माओवादी केन्द्रले पहिलो चरणमा प्रधानमन्त्री बनाउने बार्गेनिङ वा दबाबका लागि विकल्प खुला राख्ने बताएको हुन सक्ने उनले औंल्याए । लेखकले भने, ‘अहिलेको जनादेश गठबन्धन सरकारको पक्षमा छ । गठबन्धन दलहरुलाई मिलेर सरकार बनाउने जनादेश छ । हामीले जनादेश मुताबिक हिँड्नुपर्छ । जनादेश विपरीत हिँड्दा हामी ठीक ठाउँमा पुग्दैनौं । माओवादीको कुरा सत्ता बार्गेनिङ वा दबाबका लागि हुन सक्छ ।’ उनले सरकारको नेतृत्व आलोपालो वा चरणबद्ध रुपमा गर्नु उपयुक्त हुने पनि औंल्याए । लेखकले थपे, ‘गठबन्धनमा निर्वाचन लडेपछि जतिसुकै ठूलो दल भए पनि एउटैले पाँचै वर्ष नेतृत्व गर्नुपर्छ भन्नु व्यावहारिक हुन्न । जनादेश अनुसार आलोपालो गर्नु राम्रो हुन्छ । तर त्यसको प्रयोग सुल्टो बाटोबाट गरौं । ठूलो पार्टीले अलि बढी समय नेतृत्व गर्ने र अरुले क्रमशः गर्ने कुरामा फराकिलो भएर सोच्नुपर्छ ।’ २०५३ सालमा १२ सिटको राप्रपाले सरकारको नेतृत्व गरेको होइन र भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘अहिले मसँग यसलाई यो पद त्यसलाई त्यो पद भन्ने अथोरिटी छैन । अहिले त गठबन्धन डल्लै बसेर अरु थप दललाई आमन्त्रण गर्नुपर्ने बेला हो । तर अहिले गलत नजिरलाई पुनरावृत्ति गर्ने हो भने त जे गरे पनि भयो नि ।’ कांग्रेसले माओवादीलाई मत नदिएको विषय पनि छ नि भन्ने अर्को प्रश्नमा लेखकले भने, ‘पहिले कांग्रेस एक्लै लड्थ्यो । हामीलाई पार्टीभित्रको समस्या थाहा हुन्थ्यो । अहिले गठबन्धनमा गएर लड्यौं । माओवादीका उम्मेदवारले कांग्रेसका कारण मात्र हार्नुभयो कि आफ्नै कारणले पनि हार्नुभयो ? त्यहाँ आन्तरिक समस्या छ कि छैन ? केही कांग्रेसले उसलाई गरेनन् होला, केही माओवादीले पनि कांग्रेसलाई सहयोग गरेनन् होला । कम्युनिस्टसँग कांग्रेसको गठबन्धन पहिलो प्रयोग हो । त्यसैले समस्या दुवैतर्फ देखिएको छ ।’
कांग्रेसमा प्रधानमन्त्रीको एक मात्र दाबेदार नभएको अवस्थामा प्रचण्डलाई प्रधानमन्त्री दिनु उपयुक्त हुँदैन र भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा लेखकले भने, ‘स्वाभाविक रुपमा प्रधानमन्त्री एउटा दलको भएपछि राष्ट्रपति अर्को दलको हुन सक्छ । कोलिसन संस्कार भनेकै त्यही हो । कांग्रेसमा धेरै आकांक्षी छन् भने कांग्रेसभित्रको लोकतान्त्रिक प्रक्रियाबाट टुंगिहाल्छ नि । अरु कुरा केही नगरीकन खालि प्रधानमन्त्रीमा मात्र झगडा गरिरहनु उपयुक्त हुँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here