पहिरो जाँदा जिप पुरियो, मनाङ जाने सडक अवरुद्ध

0
89

लमजुङ- बेंसीसहर–चामे सडक अन्तर्गत लमजुङको मर्स्याङदी गाउँपालिका-४, स्याँगेमा पहिरो जाँदा मनाङ जाने सडक अवरुद्ध भएको छ । स्याँगेको दुईवटा बजारको बीचतिर पर्ने माथिल्लो घुम्तीमा पहिरो जाँदा सडक अवरुद्ध भएको त्यहाँ स्थित स्थानीयले बताएका छन् ।
स्थानीय नरबहादुर गुरुङका अनुसार शनिबार साँझ मिर्मिरेमा पहिरो खसेको हो । पहिरोले काठमाडौंबाट मनाङ घुम्ने यात्रु लिएर आएको बा१६च ५०६८ नं. को स्करपियो जीप पुरेको छ , सवारी साधनमा क्षति पुर्‍याए पनि यात्रु भने भाग्न सफल भएको गुरुङले बताए ।
‘पहिरो गयो भनेपछि दौडेर गएँ । पहिरोबाट आएको ढुंगाले गाडी थिचिएछ । यात्रु बाहिर निस्किसकेछन । कसो जोगिएछ,’ उनले भने । उनका अनुसार पहिरोले विद्युतको पोल समेत जोखिममा पारेको छ ।
गुरुङ भन्छन ‘मनाङ जाने बाटो नै अवरुद्ध भयो। डीएसपी रबिन्द्रमान गुरुङले चालकसहित ५ जनाको टोली मनाङतर्फ जाँदै गरेको स्करपियो जीप पहिरोमा परेको बताए । ‘जिप पनि पुग्ने र पहिरो पनि खस्ने भएछ । जिपको अगाडिको भाग पहिरोमा परेपछि पछाडिका यात्रु निस्किएछन् । कसो मान्छेलाई केही भएन,’ उनले भने । पहिरोले सडक अवरुद्ध भएको र पहिरो पन्छाउने तयारी भइरहेको उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here