पर्वतमा बाढीले गाडी बगाउँदा इन्जिनियरसहित तीन जना बेपत्ता

0
19

पर्वत – पर्वतमा सडक निर्माणमा खटिएका इन्जिनियरसहित तीन जना सवार गाडी बाढीले बगाएको छ। मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा नजिकै रहेको सुन्दरखोलाले गएराति करिब ११ बजे दोविल्ला भन्ने स्थानमा गाडी बगाउँदा त्यसमा सबार तीन जना बेपत्ता भएका पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन्। ‘राति करिब ११ बजे खोला पार गर्ने क्रममा उहाँहरुलाई बाढीले बगाएको हो,’ प्रमुख जिल्ला अधिकारी खत्रीले बुधबार भनिन्, ‘रातिदेखि नै बेपत्ता यात्रु र गाडीको खोजी भइरहेको छ। तर, अझै फेला पार्न सकिएको छैन।’ प्रजिअ खत्री, डिएसपी शिवराज बुढाथोकीसहितको टोली अहिले घटनास्थलमै छ। सुरक्षाकर्मी र स्थानीयबासी बिहानैदेखि बेपत्ताको खोजीमा जुटेका छन्। निर्माण कम्पनी लामा कन्ट्रक्सनको उक्त गाडिमा इन्जिनियर राजाराम आचार्य, गाडीका चालक र एक जना स्थानीयबासी सबार थिए। गाडीका चालक र स्थानीयको भने नाम खुल्न बाँकी रहेको पर्वतका प्रहरी प्रमुख डिएसपी शिवराज बुढाथोकीले जानकारी दिए। बेपत्ता भएको गाडी नम्बर पनि खुलेको छैन। पर्वत सदरमुकाम कुस्माबाट पर्वतकै डिमुवातर्फ जाँदै गर्दा कुस्मा नजिकै पर्ने मध्यपहाडी लोकमार्गको सुन्दरखोलामा आएको बाढीले गाडी बगाएको हो। बाढी पहिरोको कारण अहिले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड बन्द भएको छ। बाढी पहिरोले पर्वतका तीनचारवटै सडक गएरातिदेखि खण्ड बन्द भएका डिएसपी बुढाथोकीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here