‘नो ब्रा’ अभियन्ता दक्षिण कोरियाली प्रसिद्ध पप गायिका मृत फेला

0
45

काठमाडौं- दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला परेकी छन् । राजधानी सोलनजिकै रहेको आफ्नो निवासमा गायिका सुली सोमबार मृत फेला परेकी हुन् । गायिका सुलीले दक्षिण कोरियामा ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएकी थिइन् ।
उनका म्यानेजरले घरको दोस्रो तलामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनले आत्महत्या गरेको अनुमानमा अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ । तर घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन ।
उनले दक्षिण कोरियामा ब्रा लगाउने-नलगाउने कुरा महिलाको निजी मामिला एवम् स्वतन्त्रताको कुरा हो भन्ने सन्देश फैलाएकी थिइन् । २५ वर्षीया गायिका सुलीको वास्तविक नाम भने चोप जिन-रि हो ।
यस्तै गायिका सुलीले इन्स्टाग्राममा ब्रा नलगाइकन खिचेको फोटो पोष्ट गरेपछि प्रशंसा र आलोचना दुवै भएको थियो । इन्स्टाग्राममा रहेका उनका लाखौं फलोअर्सले पनि उनलाई साथ दिएपछि ‘नो ब्रा’ ह्यासट्याग ट्रेन्डिङमा समेत आएको थियो ।
उनले मे २०१६ मा पहिलोपटक ब्रा नलगाएको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् । आफ्नो शरीर कसरी देखाउने भन्ने कुरा आफ्नो स्वतन्त्रताको कुरा भएको उनले बताउँदै आएकी थिइन् । तर ब्रा नलगाइ खिचिएका तस्वीर र भिडियोहरुमा निप्पल देखिएको भन्दै उनको धेरै आलोचना समेत भएको थियो । यद्यपि प्रभावशाली नारी स्वरका रूपमा परिचित सुलीका समर्थकहरुको संख्या पनि बढ्दै गएको थियो । धेरैले उनलाई साथ दिँदै ब्रा नलगाएका आफ्ना तस्वीरहरु सामाजिक सन्जालमा सेयर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here