नेपाल र पौडेल ओलीको यार, गच्छदार फसाउन लाग्यो अख्तियार भन्दै माइतिघरमा प्रदर्शन

0
291

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले आफ्ना उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाएको भन्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दलले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।
तरूण दल अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा आइतबार अख्तियार र प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नेविसंघ अध्यक्ष राजीव ढुंगाना पनि सहभागी रहेका छन् ।
‘दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो । विभेद गर्न पाइँदैन, कठपुतली अख्तियार चाहिँदैन । नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार’जस्ता नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।
ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको भन्दै अख्तियारले गच्छदारविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि कांग्रेसले सदन र सडकबाट विरोध गरिरहेको छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने बयान दिएको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दर्ता गरेको थिएन । पौडेलले जग्गा सरकारलाई फिर्ता गरिसकेका छन् ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका गच्छदारलाई मुद्दा लगाउने तर नेपाललाई मुद्दा नलगाउने अख्तियारको कदम कांग्रेसले विभेदपूर्ण भन्दै विरोध गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here