नेपाल प्रहरीमा डीआईजीसहित २६ सय दरबन्दी थप्न प्रस्ताव

0
6

काठमाडौं- नेपाल प्रहरीमा एक प्रहरी नायव महानिरीक्षक (डीआइजी) सहित २ हजार ६ सय नयाँ दरबन्दी थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । प्रधान कार्यालयले एकजना डीआईजी, २ जना वरिष्ठ उपरीक्षक (एसएसपी), ७ जना उपरीक्षक (एसपी) र २५ जना नायव उपरीक्षक (डीएसपी)को दरबन्दी थप्न प्रस्ताव गरेको छ ।अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नती भएसँगै पोखरा विमानस्थलमा प्रहरी वरिष्ठ उपरीक्षक राख्नुपर्ने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान सम्पन्न भइसकेको छ । प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीआईजी राख्न प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले भने– ‘मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति लिएर दरबरन्दी थप्ने प्रस्ताव पठाएका छौँ तर, सो प्रस्ताव गृहमा अड्किएको छ ।’

एआईजी बढुवामा सचिवको जोड

दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाउनुपर्छ । अर्थ मन्त्रालयको सहमति लिएर मात्रै सो प्रस्ताव कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, गृह मन्त्रालयले दरबन्दी थप्ने प्रस्ताव रोकेर ४ जना एआईजी बढुवा गर्ने तयारी गरेको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवामा गृहसचिव विनोद प्रकाश सिंहले तीब्र लविङ गरिरहेका छन् । मंसिर ११ मा आईजीपी धिरजप्रताप सिंहको सहमति बेगर सचिवले निर्वाचन आयोगसँग बढुवाका लागी सहमति मागेका थिए । गृह मन्त्रालयको पत्रको आधारमा निर्वाचन आयोगले आवश्यक बढुवा र सरुवाका लागि मन्त्रालयलाई अनुमति दिएको छ ।
गृह मन्त्रालयमा भएको एउटा छलफलमा सचिव विनोद सिंहले भनेका छन्–‘पुरानाबाट ३ जना र नयाँबाट एकजनालाई एआइजीमा बढुवा गर्नुपर्छ ।’ सचिवले पुराना भनेका डीआईजीहरू मसाउद अलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य हुन् । उनीहरू अहिलेका आईजीपी धिरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेट हुन् । नयाँ टिमबाट सिंहले आफ्ना नाताका अशोक सिंहलाई बढुवा गर्न लविङ गरिरहेका छन् । सिंह २०७९ असारमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई र दीपक थापासँगै प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका थिए । अशोक सिंहसँगै बढुवा भएका मध्ये वसन्त कुँवर एक नम्बरमा छन् । तर, बरियता मिचेर सिंहलाई अगाडि ल्याउन खोजिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here