नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्न सक्ने भन्दै सतर्क रहन विज्ञहरूको सुझाव

0
11

काठमाडौं – नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्न सक्ने भन्दै सतर्क रहन विज्ञहरूले सचेत गराएका छन् । पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतह नजिकै बसिरहने भएकोले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरूले सचेत गराएका हुन् । पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारु रूपमा हुन नसक्दा यसको सिधा असर जनस्वास्थ्यमा पर्ने भएको भन्दै विज्ञहरूले त्यसतर्फ तयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायुजन्य विपद्बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनीतिक तयारी थाल्नुपर्ने बताए । उनले भारतमा हरेक वर्षमा ४ वटा चक्र वातहरू आउने र त्यसको असर नेपालमा पनि पर्ने भएकोले जनताको स्वास्थ्य सुरक्षाका लागि सचेतनासहितको चरणबद्ध तयारी थाल्नुपर्ने बताए । मास्कले कोरोनाका साथसाथै वायु प्रदूषणबाट पनि बचाउने भएको भन्दै उनले अहिले जीवन बचाउने पद्धति भनेकै मास्क भएको र यसको अनिवार्य प्रयोग गर्न पनि आग्रह गरे । वायु प्रदूषण बढेको बेला घातक हावाको तह पृथ्वी नजिक हुने भएकोले सो समयमा घरबाहिर ननिस्किन आग्रह गर्दै उनले अत्यधिक वायु प्रदूषण भएमा विद्यालय बन्द गर्नुपर्ने स्थिति आउन सक्ने तर्फ सरोकारवालाहरूलाई सचेत गराए । डा. उप्रेतीले राष्ट्रिय आपत्कालीन केन्द्रले आउँदै गरेको जोखिमलाई मध्यनजर गरी त्यसबारेमा आम नागरिकहरूलाई सचेत गराउन आवश्यक रहेको बताए । उनले वायु प्रदूषणलाई बेवास्ता गरेमा यसले मृत्युदर बढाउने चेतावनी समेत दिए । वायु प्रदूषणजन्य विपद्बाट बच्न बहुप्रकोपीय उपाय अपनाउन पनि उनले आग्रह गरे । (रातोपाटिको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here