‘नेपालको विकासप्रति भारत प्रतिबद्ध छ’ : पाइपलाइन उद्घाटन पछि भारतीय प्रधानमन्त्रि मोदी

0
14

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताएका छन् । मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन पछि भारतीय प्रधानमन्त्री मोदीले यस्तो धारणा सार्वजनिक गरेका हुन् । मंगलबार मध्यान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट एकै पटक स्वीच थिचेर पाइपलाइन उद्घाटन गरेका हुन् ।
विगत लामो समयदेखि चर्चामा रहेको पेट्रोलियम पाइपलाइन सञ्चालमा आएको छ। कुल ६८ किमि लामो पाइपलाइनको ३२.७ किमि खण्ड भारतमा पर्छ भने ३६.२ किमि खण्ड नेपालमा पर्छ।
पाइपलाइन सञ्चालनमा आएसँगै पेट्रोलियम ढुवानीको झन्झट धेरै हदसम्म कम हुनेछ। पाइपलाइन २४ घन्टासम्म सञ्चालन हुनेछ। पाइपलाइनको क्षमता प्रतिघन्टा २९४ किलोलिटरसम्म रहेको छ। यसको शिलान्यास अघिल्लो वर्ष प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेलामा गरिएको थियो। दक्षिण एसियामै यसकिसिमको अन्तरदेशीय पाइपलाइन लाइन यो नै पहिलो हो। भारतले बंग्लादेशसँग पनि पाइपलाइन निर्माण गरिरहेको छ र उक्त पाइपलाइनको लम्बाई १३० किमि रहेको छ।
पाइपलाइन उद्घाटन सँगै दुवै प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन समेत गरेका थिए। ‘भिडियो कन्फरेन्समार्फत् नेपालमा द्विपक्षीय परियोजनाको रिमोट उद्घाटनका लागि तपाईसँग जोडिन पाउँदा निकै खुशी लागेको छ,’ मोदीले भनेका थिए।
पाइप लाइनको उद्घाटनसँगै भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको साझेदारी थप गहिरो र गाढा बन्ने विश्वास समेत प्रकट गरेका छन्। ‘मलाई खुशी छ हामीहरु आपसी सहयोगका क्षेत्रमा प्रगति गरिरहेका छौं। मलाई आशा छ कि हामीहरु आफ्नो साझेदारीलाई थप व्यापक र गाढा बनाउँदै तीब्र रुपमा अघि बढाउँदै लैजानेछौं,’ ट्विटमा मोदीले भनेका छन्। त्यसैगरी चार वर्षअघिको विनाशकारी महाभूकम्पपछि नेपालले पुनर्निर्माणको काम अघि बढाएको र छिमेकी एवं निकट मित्र भएका नेताले भारतले पनि सहयोगको हात बढाएको समेत नरेन्द्र मोदीले बताएका छन्। साथै भारतको सहयोगका कारण गोरखा र नुवाकोटमा भूकम्प पीडितहरुले पुनः आफ्नो बास पाएको समेत खुशी व्यक्त गरेका छन्।
मोदीले क्रस बोर्डर पाइप लाइनले अनुमानमा भन्दा आधा समयममै बन्न सफल भएकोमा खुशी समेत व्यक्त गरेका छन्। साथै पाइपलाइन पूर्वनिर्धारित समय अगावै सम्पन्न भएको मा त्यसको श्रेय प्रधानमन्त्री ओलीको नेतृत्व र नेपालको सरकारको सहयोग एवं दुवै सरकारको संयुक्त प्रयासलाई समेत जाने बताएका छन्।
यसैगरी पछिल्लो पाँच वर्षमा पशुपतिनाथ धर्मशाला र वीरगंज आईसीपीलगायतका कतिपय महत्वपूर्ण द्विपक्षीय परियोजनाहरुसमेत सम्पन्न भएको समेत मोदीले बताएका छन्। ‘विकासका लागि हाम्रो साझेदारीलाई घनिभूत बनाउन र नयाँ क्षेत्रमा सहयोगहरुको विस्तार गर्दै नयाँ अवसरहरुको लाभ उठाउन हामीहरु सफल भएका छौं। हाम्रो संयुक्त प्रयासको उद्देश्य भनेकै हाम्रा जनताहरुले लाभ पाउन् र उनीहरुको विकास होस,’ ट्विटमा मोदीले भनेका छन्।
साथै मोदीले पछिल्लो समय नेपाल र भारतबीच बढेको उच्च राजनीतिक तहमा बढेको सम्बाद र भेटघाटलाई पनि उपलब्धिका रुपमा अर्थ्याएका छन्। ‘विगत केही वर्षयता हामीहरुबीच उच्च राजनीतितहमा अभूतपूर्व निकटता कायम भएको छ र नियमित सम्पर्क स्थापित छ। पछिल्लो डेढ वर्षभित्र मात्र मेरा मित्र प्रधानमन्त्री ओली र आफु बीच चार पटकसम्म भेट भइसकेको छ,’ मोदीले भनेका छन्।
त्यसअघि मोदीले ट्विट गर्दै अघिल्लो वर्ष प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला सम्पन्न परियोजनाहरुको चाँडै उद्घाटन गर्न सहमति भएको र संयुक्त प्रयासका कारण द्धिपक्षीय परियोजनाहरुको प्रगति भइरहेको र त्यसैको फलस्वरुप मंगलबार पाइपलाइनको संयुक्त उद्घाटनमा भाग लिन लागेको उनले बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here