नेपालका सन्तोष शाह बने बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० का उपविजेता

0
138

काठमाडौं -सिरहाका सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० प्रतियोगितामा उपविजेता बनेका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि जिते । संसारभरका विभिन्न कुइजिनहरुको प्रतिनिधित्व गर्ने झण्डै तीन दर्जन सेफहरुले भाग लिएको प्रतिस्पर्धामा ‘ग्रयाण्ड फिनाले’ सम्म पुगेका नेपालका सन्तोष उपविजेता बने । ‘तर नेपाली खाना विश्वसामु पुरयाउन र लाखौं नेपालीको मन जित्न सफल भएकोमा त्यसलाई मैले उपाधि भन्दा ठूलो उपलब्धि ठानेको छु’, साहले बताए ।
बिहीबारको फाइनल एपिसोडमा नेपाली ढाकाटोपीमा सजिएर उपस्थित थिए सन्तोष । त्यसअवसरमा उनको बारेमा बीबीसीले तयार पारेको एक भिडियो सामग्री देखाइएको थियो जसमा सन्तोषले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए ।
अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले हड्डीवाला भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा पस्किएका थिए । खानासंगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ’ऐला’ पनि सर्भ गरेका थिए ।
संसारभर प्रतिष्ठित बीबीसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ सन्तोषले फाइनलसम्मको प्रभावशाली यात्रा तय गरे । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भांगको अचार लगायतका दर्जनौं मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका सन्तोषले देश विदेशका लाखौं नेपालीको मन जितेका छन् ।
सानै उमेरमा भारत पसेका सिरहा कर्जन्हाका सन्तोष लामो संघर्ष र मेहनतपछि यो स्थानसम्म आइपुगेका हुन् । यसक्रममा उनले भारत तथा बेलायतका पाँचतारे होटेलदेखि मेसिलिन स्टार रेष्टुरेन्टहरुसम्ममा कामको अनुभव लिइसकेका छन् ।
विहीबार बेलुका आलेक्स वेवलाई यस वर्षको विजेता घोषणा गरिएपछि मिडियाहरुलाई साहको तर्फबाट पठाइएको इमेलमा उनले भनेका छन्, ‘जतिबेला मैले मास्टरसेफमा छनौट भएँ भन्ने जानकारी पाएँ त्यतिबेलादेखि नै संसारलाई नेपाली खाना कति स्वादिलो र जीवन्त छ भन्ने देखाउनु थियो ।’ ‘नेपाल सँस्कृतिले भरिपूर्ण सुन्दर देश हो र नेपाली खाना कति अद्वितीय छ भनेर देखाउन पाउँदा मलाई खुशी लागेको छ’ उनले भनेका छन् । भारतीय खाना विगत २० वर्षदेखि पकाइरहेकाले फाइनलमा त्यही पस्किने हो कि भनेर आफूलाई लागे पनि त्यसो गर्दा ‘म को हुँ र म कुन दिशातर्फ जान चाहन्छु’ भन्ने सत्य प्रकट नहुने भएकाले फाइनलमा पनि नेपाली खाना नै पस्केको उनले प्रष्ट्याएका छन् । ”मैले मेरो हृदयलाई सुनेँ र आफूलाई मन पर्ने खाना पस्केँ” उनले भनेका छन् ।
प्रतियोगिताका अवधिभर आफू हुर्कँदा खाएका मौलिक नेपाली परिकारहरुलाई प्रस्तुत गर्न पाउँदा आनन्द लागेको उनले बताएका छन् । आफ्नो खानालाई मास्टरसेफका निर्णायकहरुले मन पराउँदा खुशी लागेको उनको भनाइ छ । उनले भने, ”फाइनल तीनसम्म पुग्न पाउनु सपना साकार हुनु जस्तै थियो र ‘म मास्टरसेफको फाइनलिष्ट हुँ’ भन्न पाउँदा जत्तिको सम्मान केही लाग्दैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here