नेकपा सचिवालय बैठक बस्दै,प्रचण्डसहित ५ नेताले ओलीले उठाएका प्रश्नहरुको लिखित जवाफ दिने तयारि

0
34

काठमाडौ – नेकपा सचिवालय बैठक आज पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ । आजको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नहरुको सयुंक्त रुपमा लिखित जवाफ दिने भएका छन्।
अध्यक्ष ओलीले प्रचण्डलाई मात्रै व्यक्तिगत रुपमा लक्षित गरेर प्रश्नहरुको जवाफ दिनुको साथै केही विगतका प्रसंग कोट्याएपछि सचिवालयका पाँचैजना नेताहरुले संयुक्त जवाफ तयार पारेको स्रोतको दाबी छ । प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा ओलीलाई विभिन्न विषयमा प्रश्न उठाउँदै १९ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए।
त्यसको दश दिनपछि मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गरेका थिए।
तर, सो जवाफमा एकतापछिका विषय र सन्दर्भभन्दा विगतका र प्रचण्डको व्यक्तिगत जीवनका बारेमा प्रश्न उठाइएको पाएपछि त्यसलाई गम्भीर रुपमा लिएको नेताहरुले बताएका छन्।
कार्यकारी अध्यक्ष प्रचण्डले नेकपा गठन भइसकेपछि पार्टीमा समस्या देखिएको, झण्डै दुई तिहाइको सरकारले जनताको पक्षमा दुरगामी काम गर्न नसकेको, भ्रष्टाचार तथा अनियमितता बढेको, सुशासन कायम हुन नसकेको, कोरोनाले पारेको असरमा सरकारले देखिने गरी जनतालाई काम गर्न नसकेको लगायतका कुरा उठाएका थिए।
त्यसको जवाफ दिने क्रममा ओलीले प्रचण्डलाई जनयुद्धकालदेखिका प्रश्न सोध्नुको साथै विभिन्न आरोप लगाएपछि सचिवालयमा रहेका बहुमत सदस्यले संयुक्त प्रस्ताव तयार पारेर मंगलबार बस्ने सचिवालय बैठकमा पेस गर्ने तयारी गरिएइको स्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here