नबिल बैंकमा ४० करोडको घोटाला

0
4

काठमाडौं – मुलुककै एकमात्र अर्बपति विनोद चौधरीको परिवारको मुख्य लगानी रहेको नबिल बैंक पछिल्लो समय वित्तीय अपराध गर्न माहिर देखिएको छ । नियामक निकायले ठूलालाई चैन, सानालाई ऐनको प्रवृत्ति देखाउँदा नबिलमा वित्तीय अपराध फस्टाएको हो।
हालैमात्र नबिल बैंकको पोखरा शाखामा गम्भीर प्रकृतिको वित्तीय अपराध भएको खुलासा भएको छ । बैंककै उच्च तहका कर्मचारीबाट विगत ६ वर्षदेखि गम्भीर वित्तीय अपराध भइरहेको तथ्य खुलेको हो । कुरा, नबिल बैंकको पोखरास्थित न्युरोड शाखाको हो ।

त्यहाँको उच्च तहकै कर्मचारीले विगत ६ वर्षअघि देखि ग्राहकबाट लिएको पैसा आफैंले प्रयोग गर्ने र ग्राहकलाई नक्कली भौचर र कागजातहरू दिने गरेको भेटिएको हो । यस घटनामा संलग्न कर्मचारीले चेकसमेत व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको पाइएको हो।

ती कर्मचारीले करिब ४० करोडभन्दा माथिको रकम हिनामिना गरेको अनुमान गरिएको छ। उनले ग्राहकबाट उठाएको रकम घरजग्गा लगायतमा लगानी गरेको पाइएको समेत बैंक स्रोतले बताएको छ। ती कर्मचारीले बैंकको उक्त शाखामा पैसा तथा चेक जम्मा गर्न आउने ग्राहकले हेर्दा सक्कली जस्तै देखिने भौचर थमाउने गरेको र पैसा ग्राहकको खातामा नभई आफ्नै खातामा राख्ने गरेको पाइएको हो।

ग्राहकले आफ्नो खातामा पैसा नभएको गुनासो गर्न थालेपछि घटना सामसुम पार्न बैंकका केन्द्रीय कार्यालयका उच्च कर्मचारीहरू समेत लागिपरेको स्रोतको दावी छ । घटना बैंकको उच्च व्यवस्थापनसम्म पुगिसकेको भएपनि ती कर्मचारीलाई कानूनी कारबाही गर्ने काम भएको छैन । घटना प्रहरीकोमा पुगेमा बदनाम हुने भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानासमेतले सामसुम पार्ने प्रयास गरिरहेको स्रोतको दावी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here