दैनिक ११ हजार संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण

0
24

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । ‘नहोस् तर अहिलेको ट्रेण्डका आधारमा यो प्रक्षेपण गरिएको हो’ उनले भने, ‘त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।’ अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीले बताए । संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरिएको उनले बताए । उनका अनुसार विदेशबाट आएकाहरुलाई मुख्य नाकामा नै टेष्ट गर्ने र संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति बनाइएको छ । यसका लागि मुख्य नाकामा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने प्रक्रिया शुरु भएको मन्त्री त्रिपाठीले बताए काठमाडौं उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राख्न भनिएको भन्दै स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘हाम्रो प्रयत्न मुलुकलाई फेरि बन्दाबन्दीमा पुग्न नदिने हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here