देशभरका शिक्षक काठमाडौं केन्द्रीत आन्दोलनमा आउँदै, माग र मुद्दा विधेयकमा नसमेटिएसम्म संघर्ष नरोकिने

0
2

काठमाडौं- नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले आगामी असोज ३ गतेबाट देशभरका विद्यालय बन्द गरेर शिक्ष विधेयकको विरोधमा शिक्षकहरु काठमाडौं आउने बताएकी छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुको चाहना ५२ वर्षपछि बन्न लागेको शिक्षा ऐन राम्रो बनोस् भन्ने रहेको बताईन् ।

आफूहरुले अस्थायी प्रकृतिका शिक्षक लामो समय राखिनु हुँदैन भनेर सरकारलाई सुझाव दिएपनि त्यसलाई विधेयकमा नसमेटिएको उनको भनाई छ । राहत, उच्च मावि, विशेष शिक्षा, शिक्षण सिकाई अनुदान, प्रविधिक धार शिक्षा, विद्यालय कर्मचारी, बाल कक्षा शिक्षक सबैलाई एक द्वार प्रणालीबाट नियुक्ति गरिएर अस्थायीका समस्या समाधान गरिनुपर्ने उनको माग छ ।

‘हामीले केही चिजहरु संशोधन हुनपर्छ भनेर सुझावहरु पहिला पनि पेश गरिराखेका थियौं । हाम्रो माग लामो समयसम्म अस्थायी प्रकृतिका शिक्षकहरु राखिराख्न हुँदैन । धेरै थरीका शिक्षकहरुको नियुक्ति धेरै डोरबाट भयो । हामीले भनेको वान डोर सिस्टम, त्यो पनि शिक्षक सेवा आयोगबाट परीक्षा लिएर पास गरेको शिक्षकहरुलाई उहाँहरुको स्थायी नियुक्तिबाट सुरु गर्दियोस् । त्यो भयो भने अस्थायी भन्ने चिज निमिट्यान्न भएर जान्छ ।’ उनले भनिन्, ‘यो राहत, उच्च मावि, विशेष शिक्षा, शिक्षण सिकाई अनुदान, प्रविधिक धार शिक्षा, विद्यालय कर्मचारी, बाल कक्षा शिक्षक सबै चिजहरु गोलमोडल तरिकाले आयो ।’

सरकारले शिक्षकलाई पेन्सन खाने र पेन्सन बञ्चितमा विभाजन गरेको भन्दै उनले आपत्ति जनाईन् । सबैलाई समान व्यवहार गर्न आवश्यक रहेको उनको भनाई छ । स्थानीय सरकारको सवालमा विभागीय कारबाहीप्रतिमात्रै आपत्ति रहेको उनले बताईन् । शिक्षकलाई कारबाही र बर्खास्त गर्ने अधिकार स्थानीय तहलाई हुन नहुने उनले बताईन् ।

ट्रेड युनियनमा अंकुशको आरोप

सरकारले विधेयकमार्फत ट्रेड युनियनमा अंकुश लगाउन खोजेको उनको भनाई छ । आफूहरुले पञ्चायत कालमा पनि ट्रेड युनियनको अभ्यास गरेको बताउँदै उनले संविधानको धारा ३४ (३) ले दिएको अधिकारलाई ऐनमार्फत संकु्चन गर्न नहुने उनको भनाई छ ।

‘ट्रेड युनियन अधिकार जुन छ, पञ्चायत कालमा पनि पाएको हामीले । शिक्षक संगठन खोल्न पाउने अधिकार छ, जब बहुदल आयो, त्यसपछि श्रम ऐनअन्तर्गत धेरै शिक्षकका संस्थाहरु जन्मिए । त्यसलाई राजनीति भन्न मिल्दैन । आस्था नै राख्न पाइँदैन भन्न पाइएन । संविधानको धारा ३४ (३) ले दिएको अधिकारलाई संकुचित गर्ने तरिकाले आएको छ,’– उनले भनिन् ।

विद्यालय बन्द भएको क्षतिपूर्ति विदाको बेलामा पढाउँछौं

अध्यक्ष तुलाधरले विधेकमा आपत्ति जनाउँदै आन्दोलनमा आउँदा विद्यालय बन्द भएको क्षतिपूर्ति विदाको दिन पढाएर पुरा गर्ने बताएकी छन् । शिक्षा विधेयकको विषयमा शिक्षक महासंघले राजनीति गरेको नभएर यो शिक्षकहरुको पेशागत हक हितका लागि बाध्यता भएको उनको भनाई छ ।

‘यो बेलामा विद्यालय बन्द भएको क्षतिपूर्ति हामी विदाको बेलामा पढाउँछौं । हामीले पढाउँछौं भन्ने कमिटमेन्ट गरेर साथीहरुलाई उतार्न खोजेका छौं । अब देशभरीका शिक्षकहरु काठमाडौं आउँछन् । माईतीघरबाट बानेश्वरसम्म संयमतापूर्वक शान्तिपूर्ण प्रदर्शन गर्छौं,’– उनले भनिन् ।

शिक्षकहरुको प्रर्दशनमा राजनीतिक दलका नेताहरुले आएर ऐक्यवद्धता जनाउन पर्ने उनको भनाई छ । अब विधेयक सांसदहरुको हातमा गइसकेको बताउँदै उनले संसद्हरुलाई सुनाउनका पनि काठमाडौं केन्द्रीत आन्दोलनको आवश्यकता रहेको बताईन् । राजनीतिक दलका घोषणा पत्रमा राम्रा चिज लेखिने र ऐन आउने बेलामा सांसदहरु चुप लागेर बस्ने परिपार्टीको अन्त्यका लागि यो आन्दोलन कोशेढुंगा सावित हुने उनको भनाई छ ।

संस्थागत विद्यालयका शिक्षकले पनि सामुदायिक विद्यालयको सरह सेवा सुविधा पाउन पर्छ

अध्यक्ष तुलाधरले संस्थागत विद्यालयमा पढाउने शिक्षकहरुको सेवा सुविधा ससामुदायिक विद्यायको सरह हुनुपर्ने बताईन् । संस्थागत विद्यालयका शिक्षकहरुले पनि न्याय पाउन पर्ने बताउँदै उनले उनीहरुको पनि पेन्सन, सञ्चय कोष हुने गरी सामाजिक सुरक्षा कोषको व्यवस्था गरिनु्पर्ने बताईन् ।

‘संस्थागत विद्यालयमा पढाउने शिक्षकहरुलाई पनि न्याय हुनु्पर्छ । सामुदायिक विद्यालय सरह सेवा सुविधा हुनपर्छ । नियु्क्ति प्रक्रिया त्यसरी नै हुनपर्छ । अभिलेख राखिनुपर्छ । अनुगमन, नियमण गर्ने संयन्त्र बन्नुपर्छ । उहाँहरुको पनि हामीहरुको जस्तै पेन्सन, सञ्चय कोषको व्यवस्था हुनेगरी सामाजिक सुरक्षा कोषको व्यवस्था हुनपर्छ हामीले भनेका छौं,’– उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here