दशैं–तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन

0
269

काठमाडौँ – दशैँ, तिहार र छठ लगायतका पर्वलाई लक्षित गर्दै सरकारले आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउँदै छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने चामल, दाल, गेडागुडीलगायत सामाग्रीहरु अनलाइनबाट समेत खरिद गर्न सकिने छ ।
यो वर्ष कोभिड–१९ का कारण भीडभाड नहोस् भनेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत सामान खरिद गर्नसक्ने व्यवसथा गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संसथानले बिक्री गर्ने सामानमा न्यूनतम दुई रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म छुट हुनेछ ।
काठमाडौँ उपत्यकामा १६ स्थानसहित देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुने छन् ।
सहुलियत पसल आउँदो मङ्सिर ६ सम्म सञ्चालन गरिने छ । एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ ।
ती सहुलियत मूल्य पसलमा चामलमा प्रतिकिलो पाँच रुपियाँ, नुनमा प्रतिकेजी दुई रुपियाँ, वासमती चामल, गेडागुडी वा कर्णालीको सिमीमा प्रतिकिलो १० रुपियाँ छुट पाइने छ भने चिनीमा प्रतिकेजी पाँच रुपियाँ छुट पाइने छ ।
त्यसतै च्याङ्ग्रा र खसीबोकामा जिउँदो मूल्यमा प्रतिकेजी रु १० छुट दिइने जनाइएको छ । डीडीसी घिउमा प्रतिलिटर ३० रुपियाँ छुट दिने भएको छ ।
देशैभरमा साल्ट ट्रेडिङले ३५ वटा, खाद्य व्यवसथा तथा व्यापार कम्पनीले ३० वटा र दुग्ध विकास संसथानले सबै विक्री केन्द्रमा छुट दिनेछ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुरलगायत ११ ठाउँमा सहुलियत पसल हुने छन् । त्यसैगरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यकाबाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here