तुवाँलोले बढे रुघाखोकी र श्वासप्रश्वासका बिरामी

0
8

काठमाडौं- तुवाँलोले पोखरा सहर ढाकेको छ। तुवाँलोले गर्दा हवाइसेवा पनि प्रभावित भएको छ। तुँवालोका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको चिकित्सकले औंल्याएका छन्।

यतिबेला पोखराका अस्पतालमा बिरामी थपिएका छन्। निजी क्लिनिकमा आफूखुसी औषधि किनेर उपयोग गर्ने पनि बढिरहेको क्लिनिक सञ्चालकले बताएका छन्। स्वास्थ्यकर्मीका अनुुसार नयाँ बिरामी धेरैजसो रुघाखोकी र श्वासप्रश्वासका छन्। नाक पिरो भयो, आँखा पोल्यो, रुघा लाग्यो, घाँटी खसखस हुने सिकायत बिरामीको छ।

नेपाल औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पाण्डेका अनुसार अहिले रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढेका छन्। मौसम परिवर्तन हुने बेला भएकोले पनि यो बेला बिरामी थपिएको उनले बताए। सबैभन्दा बढी बिरामी अहिलेको तुवाँलोले बनाएको उनले बताए। ‘चिसो मौसम सकिएर गर्मी चढ्नै थालेका बेला लागेको तुवाँलोले जनस्वास्थ्यमा असर पार्न थालेको छ,’पाण्डेले भने, ‘हावामा धुलोका कण छन्।

त्यसले मानव स्वास्थ्यमा असर पारेको छ।’नाक बन्द हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने बिरामी थपिएको उनले बताए। ‘निजी क्लिनिकमा आफूखुसी औषधि किनेर सेवन गर्ने बिरामी पनि धेरै छन्। सबैले चिकित्सकको सल्लाह लिँदैनन्,’उनले भने, ‘यहीबेला कोरोना भाइरस संक्रमणले गर्दा पनि बिरामीको संख्या बढिरहेको छ। मानसिक रूपमा नागरिक कोरोनाबाट त्रसित बनेका छन्।’रुघाखोकी र श्वास्प्रश्वासको समस्या कोरोना लक्षणसँग मिल्ने भएकाले पनि सर्वसाधारण केही त्रसित बनेको उनले बताए।

‘अहिले वनजंगलमा आगलागी भइरहेको छ। आगोको धुवाँले पोखरालाई ढाकेको छ,’उनले भने, ‘पानी परेको छैन। पानी परे तुवाँलो हट्छ र सहज हुनेछ। नत्र अझै बिरामी थपिन्छन्।’स्वास्थ्य मापदण्ड पालना नगर्दा पनि बिरामी बढेको उनले बताए। सर्वसाधारण पनि एकैखालको समस्या लिएर चिकित्सककहाँ जाने गरेका छन्।

धेरैमा नाक पिरो हुने, रुघा, आँखा पोल्ने, ज्वरो आउने, कमजारी जस्ता समस्या देखिएको पृथ्वीचोकका भीम न्यौपानेले बताए। ‘घाँटी दुख्ने, आँखा पोल्ने, नाक पिरो हुनेजस्ता समस्या देखिएका छन्। मौसममा आएका परिवर्तनका कारण स्वास्थ्यमा समस्या आएको हुनसक्छ,’उनले भने, ‘यही बेला कोरोना संक्रमणदर पनि बढ्न थालेकाले सबै त्रसित बनेका छन्।’

स्वास्थ्यकर्मीका अनुुसार नयाँ बिरामी धेरैजसो रुघाखोकी र श्वासप्रश्वासका छन्। नाक पिरो भयो, आँखा पोल्यो, रुघा लाग्यो, घाँटी खसखस हुने सिकायत बिरामीको छ। नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here