जित्यो नेपालले चीन लाइ

0
23

काठमाडौँ – नेपाली महिला यू–१९ राष्ट्रिय टोलीले चीनमा जारी बेल्ट एन्ड रोड कप च्याम्पियनसिप ट्वान्टी–२० क्रिकेटअन्तर्गत पहिलो जित हासिल गरेको छ । सोमबार थाइल्यान्डसँग २९ रनले पराजित नेपालले बुधबार घरेलु टोली चीनमाथि ८ विकेटको जित दर्ता गरेको हो ।
सांघाई कम्युनिटी स्पोर्ट्स क्लबको मैदानमा चीनले दिएको ३८ रनको लक्ष्य नेपालले ६.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । ओपनर कविता कुँवरले ११ र राजमति ऐरीले ५ रन जोडे । लक्ष्मी साउद ९ र कप्तान डोली भट्ट ५ रनमा अविजित रहे । नेपालले ८ अतिरिक्त रन पाएको थियो ।
यसअघि टस जितेर ब्याटिङ गरेको चीनले १० ओभरमा सबै विकेट गुमायो । चीनका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कमजोर प्रतिस्पर्धीविरुद्ध हाबी भए पनि नेपाली बलरले अनुशासित बलिङ गरेनन् । चीनको पूरा टिमले जोडेको रनभन्दा धेरै नेपालले अतिरिक्त रन दिएको थियो ।
चीनका चार खेलाडी खाता नखोली आउट भए भने अरु चारले १–१ रनमात्र बनाउन सके । झाङ रोङ यूको खाता सर्वाधिक ८ रन थियो । उनले एक चौका प्रहार गरिन् । चीनको पूरै टिमले ब्याटबाट १८ रन जोडेको थियो भने १९ अतिरिक्त रन पायो । त्यसमध्ये ९ वाइड तथा ५–५ लेगबाइ र बाइमार्फत आएको थियो ।
नेपालबाट ईश्वरी विष्टले ३ विकेट लिइन् । उनले २ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिएकी हुन् । खुशी डंगोल र कविता कुँवरले २–२ विकेट झारे । कप्तान डोली र कृतिका मरासिनीको नाममा १–१ विकेट रह्यो ।
प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार म्यानमारसँग खेल्नेछ । प्रतिस्प्रधामा ५ देशका टोली सहभागी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here