चितवनबाट ९ दिनदेखि बेपत्ता युवतीको शव जंगलमा भेटियो

0
18

चितवन – चितवनबाट ९ दिनदेखि बेपत्ता सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको छ। आइतबार अपराह्न शव भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए। भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन्। घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो। प्राविधिक विश्लेषणका क्रममा युवतीले भनेभन्दा फरक स्थानमा उनको लोकेशन देखिएपछि प्रहरीले उनी अपहरित नभएको हुनसक्ने आशंका गरेको थियो। उनी बेपत्ता भएपछि फिरौती वा अन्य कुनै माग राखेर कसैले सम्पर्क पनि गरेको थिएन।प्रहरीले भण्डारीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), एसएमएस, म्यासेन्जरलगायतका सामग्री विश्लेषण गरे पनि कुनै सुराक भेटिएको थिएन। केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिए पनि पछिल्लो समय कुनै कनेक्सन भेटिएको थिएन। तर आइतबार उनको शव भेटिएपछि घटनाले नयाँ मोड लिएको छ। चितवनका एसपी अधिकारीका अनुसार हाल शवलाई घटनास्थलमै राखिएको छ। ‘अहिलेलाई घटनास्थल शिल गरेका छौं, भोलि तालिम प्राप्त कुकुर र फरेन्सिक डाक्टर ल्याएर थप अनुसन्धान अघि बढाउनेछौं’ उनले भने। जंगलमा च्याउन टिप्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। वनको बीचमा एउटा झ्याङमा अड्किएको अवस्थामा उनको शव फेला परेको छ। प्रहरीका अनुसार शव पानीले बगाएर ल्याएर लामो समयदेखि अड्काएको जस्तो देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here