खुल्यो भिजन लुम्बिनी ऊर्जाको आईपीओ

0
9
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

सर्वसाधारणका लागि बिहीबारदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले नकिनेको सेयरसमेत थप गरी कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको हो ।

अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ खुलेको हो । कात्तिक २० गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ ।

यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थप गरी कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको हो ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सकिनेछ ।

कस्तो छ कम्पनी ?

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपलिकामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको र प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।

आयोजनाको प्रतिमेगावाट लागत मध्यम देखिन्छ । आयोजनाको अनुमति पत्र बहाल रहने अवधि भने अझै ३३ वर्ष रहेको छ । कम्पनीको मुख्य व्यवसाय नै सोही आयोजनाबाट विद्युत् उत्पादन गरेर नाफा कमाउने हो ।

आयोजनाको पावरहाउस तथा टेलरेसतर्फको काम ९६ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ र हाइड्रोमेकानिकलतर्फ ८५ प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.४६ वर्ष रहेको र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here