कोभिड सङ्क्रमण सङ्क्रमण बढिरहेकाले, हेलचेक्र्याइँ नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

0
6

काठमाण्डौ- कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले नआत्तिन तर जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यो महिनाको सुरुदेखि नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । धेरैजसो अझै परीक्षण भन्दा बाहिर रहेकाले सङ्क्रमितको सङ्ख्या अझ धेरै हुन सक्ने आकलन गरिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताउनुभयो । उहाँका अनुसार भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेसँगै नेपालमा पनि सङ्क्रमित बढेका हुन् । कोरोनाको नयाँ भेरियन्ट फैलिएको आशङ्का गरिए पनि अहिलेसम्म नयाँ भेरियन्टको पुष्टि भने भएको छैन । तर, सङ्क्रमण बढिरहेकाले जोखिम पनि बढेको छ । ‘यही अवस्थामा सङ्क्रमणलाई रोक्न नसके पहिलेको जस्तो भयावह अवस्था नआउला भन्न सकिन्नँ,’ डाक्टर अधिकारीले भन्नुभयो– ‘सबै जना सचेत भएर जनस्वास्थ्यका मापदण्ड पालना गरे मात्रै सङ्क्रमण रोकथाम गर्न सकिन्छ ।’ अहिले मौसम परिवर्तनसँगै प्रदूषणका कारण घाँटी दुख्ने, ज्वरो आउने तथा रुघाखोकीका बिरामी बढ्दै गएका छन् । यस्ता लक्षण भएका कतिपयलाई कोरोनाको सङ्क्रमण भएको पाइएको छ । घाँटी दुखे, ज्वरो र रुघाखोकीसँगै स्वाद र गन्ध थाहा नपाउने जस्ता लक्षण देखिए परीक्षण गराउन स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीको आग्रह छ । कोरोना भाइरसको सङ्क्रमण कम भएसँगै धेरैजसोले जनस्वास्थ्यका मापदण्ड पालना गर्न छोडेका छन् । यसले गर्दा सङ्क्रमण फैलिने जोखिम उच्च छ । सङ्क्रमण फैलिरहेको यो अवस्थालाई सामान्य रुपमा नलिन पनि स्वास्थ्य मन्त्रालयको आग्रह छ । कोरोना भाइरसको जोखिम फेरि बढेसँगै मन्त्रालयले समुदायमा निगरानी बढाएको छ । यस्तै, परीक्षणलाई पनि जोड दिएको छ । जोखिम वर्गलाई कोरोना विरुद्धको बुस्टर डोज पनि दिन थालेको छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका, ५५ वर्ष नाघेका र अग्रपङ्क्तिमा खटिएकाहरुलाई बुस्टर डोज दिन थालेको डाक्टर अधिकारीले बताउनुभयो । उहाँका अनुसार खोपको पहिलो र दोस्रो मात्रा लगाएकाले तेस्रो मात्रा अर्थात् बुस्टर डोज लगाउन सक्ने छन् । यदि तेस्रो मात्रा लगाएको ६ महिना कटेको छ भने चौथो मात्रा लगाउनु पर्ने उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले रुघाखोकी लागे बेवास्ता नगर्न पनि अनुरोध गरिसकेको छ । कोरोना विरुद्धको खोप लगाए, घरबाहिर निकँस्दा मास्क लगाए, भौतिक दूरी कायम गरे, सरसफाइमा ध्यान दिए, भिडभाडमा नगए सङ्क्रमणलाई रोकथाम गर्न सकिने डाक्टरले बताउँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here