कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

0
5

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । केही सयमयता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताएका हुन् । वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामर्थ्यको विकास गर्नुपर्ने बताए ।क्यान्सरजस्ता घातक रोगहरुको समयमै सहज ढंगले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरुले ध्यान दिनुपर्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । उनले भने, ‘केही समययता मत्थर भएको कोभिड महामारी पुनः विस्तारै फैलिदै जाने खतरा देखिएको छ । अझ यसलाई पूर्ण रुपमा नियन्त्रण गर्दै भविष्यमा आउनसक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामर्थ्य हामीले विकास गर्नुपर्ने खाँचो छ । साथै क्यान्सरजस्ता घातक रोगका बिरामीहरुलाई समयमै सहज उपचार गराउने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित पक्षले ध्यान दिने विश्वास लिएको छु । भविष्यमा प्रमुख स्वास्थ्य समस्या भनेको सर्ने भन्दा पनि नसर्ने रोगहरु छन् भन्ने विश्व स्वास्थ्य संगठनले पूर्व अनुमान गरेको छ । हामीले पनि नसर्ने रोगका विरामीहरुलाई सहज उपचारका लागि क्षमता विकास गर्दै जानुपर्ने आवश्यक्ता छ ।’
प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको पनि बताए । स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्दै उनले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था समेत सरकार गरेको बताए । प्रधानमन्त्री देउवाले भने, ‘स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता हो । नेपालको संविधानले स्वास्थ्यको हकलाई मौलिक हक अन्तरगत समावेश गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेको छ । तसर्थ नेपाल सरकार सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन कटिबद्ध छ । स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्टयाएको छ । यस क्षेत्रको भौतिक संरचनाको निर्माण तथा मानवीय जनशक्तिको विकासलगायतका कार्यका लागि विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सरजस्ता घातक रोगका लागि सहज ढंगले उपचार गराउन सरकारले बजेटको व्यवस्था गरेपनि त्यसको सदुपयोग गर्न नसकेको भन्दै वीर अस्पताल व्यवस्थापनको आलोचना गरे । उनले वीर अस्पताल मुलुकको सबैभन्दा जेठो अस्पताल भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकासमा ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याए ।वीर अस्पतालका कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत डा।भुपेन्द्रकुमार बस्नेतले बिरामीहरुको चापलाई धान्न सक्ने गरी अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन सरकारसँग माग गरे । उनले पुराना भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि अस्पताललाई बजेटको समेत आवश्यक्ता रहेको बताए ।कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अस्पतालले बिरामीहरुले स्वास्थ्य उपचारका सकेको योगदान गर्दै आएको पनि बताए । (समाचार स्रोत – न्युजसेवा डटकम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here