कृषिजन्य वस्तुको आयात १३ अर्ब घट्यो

0
6

काठमाडौं- स्वदेशमै उत्पादन हुन सक्ने कृषिजन्य वस्तुमा मुलुकमा परनिर्भरता बढिरहेको अवस्थामा यो वर्ष कृषिजन्य वस्तुको आयातमा कमी आएको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिना (मंसिरसम्म) मा करिब साढे ३१ अर्ब रूपैयाँको कृषिजन्य वस्तु आयात भएको छ। यो पोहोरको सोही अवधिको तुलनामा १३ अर्ब रूपैयाँले कमी हो। हरेक वर्ष आयात बढ्दै गएको भए पनि यो वर्ष भने आयातमा निकै गिरावट आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आवको मंसिरसम्म धान, चामल, मकै, गहुँ, आलु, केरा, सुन्तला, प्याज, स्याउ गरी करिब ३१ अर्ब ५३ करोड रूपैयाँको आयात भएको छ। पोहोर सोही अवधिमा तिनै कृषिजन्य वस्तु ४४ अर्ब ४७ करोड रूपैयाँको आयात भएको थियो। यसरी हेर्दा पाँच महिनाको अवधिमा पोहोरको तुलनामा १२ अर्ब ९४ करोड रूपैयाँ कमको कृषिजन्य वस्तु आयात भएको देखिन्छ। ६ अर्ब रूपैयाँको कम चामल आयात भएको छ। पोहोर पाँच महिनामा १८ अर्ब ५७ करोड रूपैयाँको चामल र धान आयात भएकोमा यो वर्ष १२ अर्ब ६५ करोड रूपैयाँको मात्र आयात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। चामल आयातमा ३०.४५ प्रतिशतले कमी आएको छ। त्यसैगरी, मकै आयातमा पनि २८.५९ प्रतिशतले कमी आएको छ। पोहोर मंसिरसम्म १० अर्ब १५ करोडको मकै आयात भएकोमा यो वर्ष ७ अर्ब २५ करोड रूपैयाँको आयात भएको छ। त्यसैगरी गहुँ आयात करिब सतप्रतिशतले घटेको छ। पोहोर यो अवधिमा ६ अर्ब ८१ करोड रूपैयाँको गहुँ आयात भएकोमा यो वर्ष ६५ करोड रूपैयाँको मात्र गहुँ आयात भएको छ। आलु आयातमा पनि कमी आएको छ। पोहोर ४ अर्ब २४ करोडको आलु आयात भएकोमा यो वर्ष ४ अर्ब ८० करोड रूपैयाँको आयात भएको छ। स्वदेशमा उत्पादन हुन सक्ने खाद्यान्न लगायतका कृषिजन्य वस्तु विदेशबाट आयात भैरहेको अवस्थामा सरकारले चालु आर्थिक वर्ष ०७९/८० को बजेटमा आयात प्रतिस्थापनलाई प्राथमिकता दिएको छ।नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here