कामपा- हतारमा कार्यालय सार्न दबाब, तनावमा परे कर्मचारी

0
3

काठमाडौं- काठमाडौं महानगरपालिकाका कार्यकारी वसन्त अधिकारीले तयारै नभएको भवनमा हतारमा कार्यालय सार्न दबाब दिइरहेका छन् । उनले सबै विभाग, महाशाखा, शाखा, इकाई र आयोजना प्रमुखलाई प्रशासन विभागमार्फत दिनहुँजसो दबाब दिन थालेपछि कर्मचारीहरू भने तनावमा परेका छन् ।

केही सञ्चारमाध्यममा समाचार प्रकाशन गर्न लगाएर वैशाख १ गतेदेखि महत्वपूर्ण काम काठमाडौं प्लाजाबाट हुने भन्दै हल्ला पिटाएको कामपा प्रशासनले हिजो सोमबारसम्म पनि सर्ने कुनै तयारी गरेको छैन ।

सोमबार अपराह्न नयाँ भवनबाट सेवा दिन थालेको विषयमा समाचार संकलन गर्न काठमाडौं प्लाजा पुग्दा त्यहाँको अवस्था हेरिनसक्नु थियो । त्यहाँ सर्ने विभाग, महाशाखा र शाखाको नाम फोटोकपी कागजमा छापेर भित्तामा टाँसिएको थियो तर कर्मचारी एक जना पनि थिएनन् । जताततै कोठा भत्काइएको थियो । सबै तलामा रहेको शौचालय पूरै दुर्गन्धित थियो । लिफ्ट अघिल्तिर फोहोर थुप्रिएको थियो । लिफ्ट कहिले बन्छ भन्ने विषयमा त्यहाँ रहेका कसैलाई पनि जानकारी थिएन ।

तर, कामपाका प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने तत्काल कार्यालय सार्न निर्देशन दिनुभएको जानकारी दिँदै कामपाका एक उच्च कर्मचारीले भने– ‘हामीलाई दैनिकजसो दबाब आउँछ । तत्काल जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा स्थानान्तरण हुनु भन्ने उर्दी जारी भएको छ ।’

महानगरले अन्डरग्राउन्डदेखि सातौं तलामा कुन कुन विभाग, महाशाखा र शाखा कहाँकहाँ राख्ने भने तालिका बनाएर भुँइतलामा टाँसेको छ । कामपा प्रशासन विभागका निर्देशक दीपक अधिकारीले जस्तो अवस्था भए पनि सार्ने तयारी गरिरहेको जानकारी दिँदै भने– ‘कार्यालयका सबै समग्री लगेर मिलाएर बस्न सबैलाई निर्देशन दिएका छौं । एकदुई दिनभित्रै सार्न सबैलाई आग्रह गरेका छौं, हामी पनि सर्दैछौं ।’ सफ्टवेयर, इन्टरनेट र नेटवर्किङ जडान गर्ने विषयमा उहाँको भनाइ थियो– ‘सरेपछि सबै समाधान हुनेछ ।’

तर एक विभागीय प्रमुखका अनुुसार नेटवर्किङ र इन्टरनेट जडान नभएसम्म सर्ने सम्भावना नै रहँदैन । कामपाले नक्सा, राजस्व र व्यक्तिगत घटना दर्तालगायत विभाग र शाखालाई प्रविधियुक्त बनाइसकेको छ । ती निकायलाई हाल प्रयोग भइरहेको सफ्टवेयर तयारी नभइकन सार्नसक्ने अवस्था छैन ।

घरबाटै नक्सा पास गर्ने प्रणाली शुरूवात गरेको कामपाले त्यसलाई प्रयोगमा ल्याउन उक्त सफ्टवेयरलाई अनिवार्य रूपमा नेटवर्किङ गर्नेपर्छ । तर ती सफ्वेयर तयारी गर्ने अवस्था नभइकन कार्यालय सार्न थालेपछि झन् समस्या बढ्ने कर्मचारीको गुनासो छ । कामपाले नक्सा, राजस्व संकलन र ११ वटा विभागसँग जोडिनेगरी खरिद इकाईको नयाँ सफ्टवेयर प्रयोग गरिरहेको छ । नेपाल समाचारपत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here