काठमाडौं महानगरको ‘साथी महानगर’ कार्यक्रम लागू

0
3

काठमाडौं- काठमाडौं महानगरपालिकाले ‘साथी महानगर’ (स्वर्णिम योजना) कार्यक्रम लागू गरेको छ। काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत् यसबारेमा जानकारी दिएका हुन्। ‍महानगरवासीको सुख दुःखमा साथ दिन महानगर साथी स्वर्णिम योजना कार्यान्वयनमा ल्याइएको जनाएका छन्। मेयर बालेनले महानगरबासीका सुख दुःखमा सँगै रहने कार्यक्रम सञ्चालनमा आएको बताएका छन्। सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य रहेको भन्दै मेयर शाहले सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव नहोस्, किरिया खर्चको अभावमा संस्कार छोड्नु नपरोस्, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस गर्न नपरोस् भनेर कार्यक्रम सञ्चालनमा ल्याइएको बताएका हुन्।

उनले लेखेका छन्, ‘तपाईंका यस्ता समस्यामा हामी साथ दिन्छौँ। तपाईं काठमाडौं महानगरबासीमा यस्तो अवस्था छ भने तपाईं बसोबास गरिरहनु भएको वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क राख्नुहोला।’

के-के छन् याे याेजनामा ?

किरिया खर्च

यदि विपन्न हुनुहुन्छ र किरिया खर्चको समेत आवश्यकता छ भने महानगरले २० हजार सम्म खर्च उपलब्ध गराउने छ। महानगरले विपन्न अन्तर्गत घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कुनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको भनी वडा कार्यालयमा सिफारिस लिनु पर्दछ।

यस्तै घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक अस्वस्थ रहेकोलाई परिवारको हकमा महानगरपालिकाले १५ हजार सम्म किरिया खर्च उपलब्ध गराउने छ।

सुत्केरी सहयोग

शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर (स्वर्णिम योजना) अन्तर्गत १० हजार सहयोग गर्ने छ।

यस्तै ४२ दिन भित्रको सुत्केरी, परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको सुत्केरीलाई भने महानगरले ७ हजार ५ सय सुत्केरी खर्च उपलब्ध गराइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here