कप्तान मल्ल द्वारा इमर्जिङ टिम्स एसिया कपमा आफ्नो व्यक्तिगत प्रदर्शन राम्रो हुन नसकेको स्वीकार

0
23

काठमाडौं – ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेट टिमको कप्तानी सम्हालेपछि नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को लिगेसी टुर र इमर्जिङ टिम्स एसिया कप खेल्यो । यी दुई प्रतियोगितामा टिमको प्रदर्शन औसत रहँदा कप्तान मल्लको व्यक्तिगत भने प्रदर्शन भने निराशाजनक रहेको छ ।
कप्तानी सम्हालेपछि खेलेका ६ म्याचमध्ये तीन म्याचमा ज्ञानेन्द्र रनको खाता खोल्न नसकी आउट भएका छन् । ६ म्याचमा उनको व्यक्तिगत स्कोर क्रमशः १०, ०, ६, ०, ० र २२ छ । कुल मिलाएर- ३८ । औसत ६ भन्दा थोरै माथि । यो तथ्यांकले ज्ञानेन्द्र दयनीय र्फमबाट गुज्रिरहेको संकेत गर्छ ।
एमसीसीविरुद्ध टी-२० मा १० रन बनाएका उनले तीनदिवसीय क्रिकेटको पहिलो पारीमा शून्य र दोस्रोमा ६ रन बनाए । इमर्जिङ टिम्समा भारत र हङकङविरुद्ध शून्यमै आउट भए भने बंगलादेशसँग २२ रन बनाए ।
यसअघि एसिया कप छनोटमा ज्ञानेन्द्रको औसत प्रदर्शन थियो । आकस्मिक रुपमा पारस खड्काले कप्तान छाडेपछि आएको नयाँ जिम्मेवारीको असर उनको ब्याटिङमा परेको विश्लेषण गर्न थालिएको छ । यद्यपि, ज्ञानेन्द्र भने आफ्नो गुमेको फर्म चाँडै फिर्ता ल्याउनेमा आशावादी रहेका छन् ।
मंगलबार बंगलादेशबाट स्वेदश फर्किएका कप्तान मल्लले इमर्जिङ टिम्स एसिया कपमा पनि आफ्नो व्यक्तिगत प्रदर्शन राम्रो हुन नसकेको स्वीकार गरेका छन् । यद्यपि कप्तानीको दबावका कारण प्रदर्शन खस्केको कुरामा भने उनको सहमति छैन ।
उनि भन्छन – ‘’दुर्भाग्यवश म सुरुसुरुमै आउट हुन पुगेको छु । कप्तानका रुपमा दबाब महसुस गरेको छैन ।”
आफ्नोसँगै टिमको प्रदर्शन पनि सोचेकोजस्तो नभएको उनले बताए । खासगरी भारत र बंगलादेशसँग नेपालको ब्याटिङ नचल्नु र बलिङ फितलो देखिनुमा उनी चिन्तित छन् ।
भारतविरुद्ध नेपालले १९४ रन बनाएको थियो भने बंगलादेशविरुद्ध १३८ रन मात्र । भारतविरुद्ध २२०/२३० रन बनाउन सकेको भए अवस्था अर्को आउन सक्ने भन्दै ज्ञानेन्द्रले भने, ‘बंगलादेश वा भारतसँग अझै राम्रो गर्न सकिन्थ्यो होला ।’
ठूला टिमहरुसँग खेल्दा एकपटक खेलमा गल्ती गरेपछि कमब्याक गर्ने मौका नै नपाइने उनको विश्लेषण छ । यद्यपि यो प्रतियोगिताबाट नेपाली क्रिकेटरहरु सिक्ने मौका पाएको भन्दै ज्ञानेन्द्रले भने, ‘अझ म्याच एक्पोजरको जरुरी छ । ठूला टिमको यू-२३ वा अरु टिमसँग खेल्दै जाने हो भने विस्तारै सुधार हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here