ओलीले भ्रष्टाचारीलाई सरंक्षण गरेको झलनाथ खनालको आरोप

0
13

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेमा गुट सुरू गर्ने काम केपी ओलीले गरेको आरोप लगाएका छन्। बुधबारदेखि राजधानीमा सुरू भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेमा गुट सुरु गर्ने केपी ओली भएको भन्दै मदन भण्डारी फाउन्डेसनमार्फत उनले नै गुटको सुरूवात गरेको दाबी गरे। उनले पछिल्लो समय पार्टीमा आएको समस्या पनि ओलीकै कारण आएको बताए। पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले केपी शर्मा ओलीले यो तीन वर्षमा स्वयं भ्रष्टाचारीलाई संरक्षण गरेको गम्भीर आरोप लगाएका छन्। उनले महत्वपूर्ण नियुक्तिमा पनि प्रधानमन्त्री ओलीले आफ्ना धुपौरेहरुलाई मात्रै गरेको खनालको आरोप छ। प्रधानमन्त्री ओलीले विवादस्पद विधेयक ल्याएको र ती विधेयक ल्याउँदा पार्टीसँग कुनै सल्लाह नगरेको खनालले स्पष्ट पारे। उनले पछिल्लो समय प्रधानमन्त्री ओलीले बैठकहरुसमेत नराखेको गुनासो पोखे । उनले पार्टीको संगठनात्मक अवस्थामा अराजकता नै अराजकता भएको बताउँदै आफूहरू पार्टी एकता जोगाउने काममा लागिपरेको सुनाए।
नेता झलनाथ खनालले केपी ओलीको सरकारले पार्टी नीति, सिद्धान्तको पालना नगरेको दाबी गरेका छन्। उनले ओली सरकारले ल्याएको तीन आर्थिक वर्षको बजेटका नीति तथा कार्यक्रमले पार्टीका नीति, कार्यक्रम प्रतिबिम्बित हुन नसकेको बताएका हुन्। खनालले ओली स्वेछाचारी ढङ्गले अगाडि बढेको धारणा राखे। ओलीले पार्टीको घोषणा पत्रअनुसार काम अगाडि बढाउन नसकेको खनालले आरोप लगाए। खनालले २० को दशकबाट देशमा नेपाल कम्युनिष्ट पार्टीलाई पुनःगठन र एकीकरणको थालनी गरेको बताए। एमाले र माओवादी केन्द्रको एकीकरणले ठूलो सफलता हासिल गरे पनि सोचेजस्तो परिणाम दिन नसकेको स्पष्ट पारे। उनले सर्वोच्च अदालतको रहस्यमय फैसलाले तीन वर्ष पछाडि पुगेर काम सम्पन्न गर्नुपर्ने अवस्था भएको धारणा राखे। उनले ओलीले केन्द्रीय कमिटीको बैठक राखेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा बालुवाटारमा फाल्गुन २८ गते गुट बैठक गरेर एकलौटी निर्णय गरेको बताए। उनले आजको भेलाको छलफलबाट निस्किएको निचोडबाट अगाडि बढ्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here