ओलीको निर्णय असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको भन्दै आन्दोलन गरेर अदालतलाई तर्साउनु हुँदैन : देउवा

0
39

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको बताएका छन् । उनले ओलीको यो निर्णय असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी गरे । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले भने, ‘ओली जीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गर्नु भएको छ । आफ्नो निर्वाचन क्षेत्र लगायत देशभरि नै हामीले आफ्नो परिस्थिति बनाइरहेका छौं ।’

यो मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला कुर्नुपर्ने पनि देउवाले बताए । ‘हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन।’

उनले प्रजातान्त्रिक तरिकाले, लोकतान्त्रिक तरिकाले र अहिंसात्मक तरिकाले अघि बढ्नुपर्ने बताए । ‘स्वतन्त्र न्यायालय बचाइ राख्नुपर्छ । स्वन्तन्त्र न्यायलयको निर्णय हामीले मान्नुपर्छ,’ उनले भने तर प्रजातन्त्र, मानवअधिकार जस्ता व्यवस्था जनताले लडेर ल्याएकाले त्यो कसैले पनि खोस्न नसक्ने उनले बताए ।
कुनै पनि बहानामा एकदलीय शासन पद्दती नमान्ने बताउँदै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘यी कुराहरु सम्पूर्ण नेपाली जनतालाई बताउन चाहान्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here