एमाले नेतालाई धमलाको प्रश्न- भीम रावललाई त कारबाही गर्नुभएन नि

0
7

काठमाडौं- नेकपा एमालेका नेता डा. राजन भट्टराईले एकनाथ ढकाललाई समानुपातिक सांसद बनाएको विषयमा अहिले विवाद गर्न नमिल्ने बताएका छन् ।
‘एकनाथ ढकाललाई किन सांसद बनाइस् भनेर विवाद गर्नुभन्दा पनि समानुपातिक सूचीमा राख्दा नै बहस गरेको भए उचित हुन्थ्यो । ढकाल खस आर्य क्लस्टरअनुसार सांसदमा छनोट भएका हुन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
डा. भट्टराईले निर्वाचन प्रणालीको बहस घनीभूत पार्नुपर्ने पनि औंल्याए । उनले भने,’ अहिले जुन खालको निर्वाचन प्रणाली छ, त्यो सही छैन । कुनै न कुनै समयमा विवाद आइरहने स्थिति उत्पन्न भएको छ । अब कस्तो निर्वाचन प्रणाली अपनाउँदा लोकतन्त्र सृदढ हुन्छ भनेर बहस गर्नुपर्छ ।’ समानुपातिक मात्र नभएर प्रत्यक्षतर्फ पनि पैसा खर्च गर्ने, बुथ क्याप्चर गर्ने र बाहुबलीका आधारमा जनमतलाई ‘म्यानुपुलेट’ गरिएको आरोप पनि उनले लगाए ।
उनले अहिले नेकपा एमालेलाई सरकार निर्माणको अगुवाइ गर भन्ने जनादेश नभएको पनि बताए । डा. भट्टराईले भने, ‘हामीलाई पहिलो पहल गर भनेर म्यान्डेन्ट छैन । हामी हेरिरहेका छौं । तर कुनै गृहकार्य गरिरहेका छैनौं ।’
माधव नेपाल, प्रचण्ड शेरबहादुर देउवा वा कांग्रेसको नेतृत्वमा समाजवाद ल्याउन असफल प्रयत्न गरिरहेको आरोप पनि लगाए । उनले भने, ‘अहिले एकीकृत समाजवादी र माओवादी केन्द्रका राम्रा मानिस एमालेमा आउने कुरा हुन सक्छ । तर हामीले नै अरुसँग मिलेर सरकार बनाउनुको औचित्य देखेका छैनौं ।’
पार्टीको अनुशासनमा नबसेका नेताहरुलाई एमालेले निकालेको पनि डा. भट्टराईले बताए । उनले भने, ‘टिकट पाइनँ भनेर पार्टी छाड्नेलाई हामीले किन राख्ने ? भीम रावललाई त कारबाही गर्नुभएन नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, भीम रावलले अहिलेसम्म पार्टी छाडेको घोषणा गरिसक्नुभएको छैन । उहाँ पनि यसरी चल्न सक्नुहुन्न । मन लागेका सहभागी हुने, मन नलागेको विरोध गर्दै हिँड्ने प्रवृत्ति पार्टीमा रहन सक्दैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here