एमाले केन्द्रीय कमिटी बैठक ​बालुवाटारमा बस्दै, नजाने भयो नेपाल समूह

0
66

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि आजका लागि बैठक डाकेका थिए । ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा नेता माधवकुमार नेपाल समूहका सदस्यहरू भने सहभागी नहुने भएका छन् । नेपालनिकट केन्द्रीय सदस्य निरज आचार्यले ओलीले विधानविपरीत काम गरिरहेकाले उनले डाकेको बैठकमा आफूहरू सहभागी नहुने बताए ।’महाधिवेशन आयोजक कमिटीको बैठक रहेछ, हामीलाई त्यो कमिटी बनाएको नै थाहा छैन । विधानविपरीत भइरहेका काममा हामी जाँदैनौं,’ आचार्यले भने । पछिल्लो समय एमालेमा आन्तरिक विवाद चुलिएको छ । कर्णाली प्रदेशमा नेपाल पक्षका चार जना सांसदहरूले फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सत्ता जोगाइदिएपछि ओली समूह क्रुद्ध बनेको छ । नेपाल समूहले भने कर्णालीको घटना अरू प्रदेश र केन्द्रमा पनि दोहोरिन सक्ने बताएको छ । केही समयअघि अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षीय केही नेताहरूलाई पार्टीबाट निलम्बन गरेका थिए । अध्यक्ष ओलीले गत फागुन २३ गतेपछि एकलौटी रूपमा गरेका निर्णय खारेजी माग गर्दै खनाल–नेपाल समूहले आइतबार निर्वाचन आयोगमा पत्र बुझाएको छ । अध्यक्ष ओलीले विधानविपरीत निर्णय गरेको र त्यो खारेजयोग्य भएको भन्दै ८ पाने पत्र बुझाएको हो । आयोगमा पत्र बुझाउन आइतबार नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here