एमालेले पक्रेको सुनलाई पनि नुन बनाउने खतरा बढ्यो : रामहरि खतिवडा

0
4

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले सत्तापक्षबाट संसद् अवरोध भएको आरोप लगाउनु हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।
‘एमालेका सांसदहरु असंसदीय भाषा बोल्नुहन्छ । उच्चस्तरीय छानबिन समितिमा को मान्छे कहाँबाट ल्याउने ? यिनै प्रहरी, न्यायालयका मानिस ल्याउने होइन ? एमाले आयोग बनाउने, बहुमत र अल्पमत रिपोर्ट बनाउने अनि यसलाई फासफुस बनाउने खेलमा लागेको शंका छ । उसले जहिले पनि सुन, सुन मात्र भन्या छ । लम्पी स्किन, डेंगु, बाढीपहिरो, महँगी, किसानका पीडाका कुरा छैनन् ? एमालेले त पक्रेको सुनलाई पनि नुन बनाउने खतरा बढ्यो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको संवादमा उनले भने ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चार वर्षसम्म एक तोला सुन पनि नसमातिएको आरोप पनि लगाए । उनले भने, ‘केपी ओलीको पालामा चार वर्षमा ७,७९९ केजी सुन भित्रिएपछि त्यसको अनुसन्धान गर्न सहसचिवको नेतृत्वमा छानबिन समिति बनेको थियो । प्रधानमन्त्री नजिकको एक व्यापारीको नाम जोडिएपछि सहसचिवले समितिको म्याद एक महिना थप्न बिन्ती जाहेर गर्दा तपाईंको म्याद सकियो, रिपोर्ट पेस गर्नुस् भनियो । त्यो रिपोर्ट दराजमा किन थन्काइयो ? अरुलाई आरोप लगाउने एमालेको पालामा चार वर्षसम्म कहिल्यै एक तोला सुन समातियो ?’
सांसद खतिवडाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय परम्परा उल्लंघन गरेको आरोप पनि लगाए । उनले भने, ‘सभामुखजी कुरा बुझिएन, मान्यज्यू भन्नुहुन्छ । संसदीय परम्परा भनेको फस्ट लार्जेस्ट पार्टीलाई सबभन्दा पहिले बोल्न दिने हो । तर उहाँ सुरुमा एमालेका सांसदलाई लौ बोल्नुस् भन्नुहुन्छ ।’
संसदको अवरोध एमालेको चरित्र भएको पनि सांसद खतिवडाको आरोप छ । उनले भने, ‘नेकपा एमालेले २०५७ मा ५७ दिन, २०७८ मा ६ महिना संसद् अवरोध गर् यो । विपक्षको बहुमत हुँदा दुई-दुई पटक संसद् विघटन गरिदियो । २०७४ मा हामी पनि प्रतिपक्षमा थियौं नि । हामीले कहिल्यै त्यसो गर् यौं ?’

गृहमन्त्रीले संसद् चलिरहेका बेला सांसद सुनील शर्मालाई बोलेकै आधारमा पक्राउ गरेको तर सुनकाण्डमा मुछिएका आफ्नो मान्छे जोगाएको आरोप पनि लगाए । खतिवडाले भने, ‘गठबन्धन टुटे टुटोस्, तर कांग्रेसलाई तर्साउने काम नहोस् । कांग्रेस सांसदको नक्कली सर्टिफिकेट थियो भने २०७१ सालमा किन छाडेको ? लकरमा गोली राख्ने ल्यारकाल लामालाई लुम्बिनी विकास कोषमा नियुक्ति गरेर के देखाउन खोजेको ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here