इजरायल जान इच्छुक कामदारसँग आवेदन माग, १ हजार लगिदै, इच्छुकले वेबसाइटबाटै आवेदन दिन पाउने

0
241

काठमाडौं – वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको रुपमा काम गर्न इच्छुक नेपाली कामदारलाई आवेदन दिन मंगलबार सूचना जारी गरेको छ । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला र पुरुषले आवेदन दिन पाउने विभागले जनाएको छ ।
कमाइ र कार्यस्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो । इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर (झन्डै एक लाख ९० हजार रुपैयाँ) छ । लागत शुल्क भने एक लाख ६५ हजार रुपैयाँ लाग्ने छ । छानिएको कामदारले ५ वर्षसम्म काम गर्न पाइनेछ । इच्छुक उम्मेदवारले विभागको वेबसाइटमार्फत आवेदन दिन पाउनेछ । सरकारी संयन्त्रमार्फत इजरायलले पहिलो चरणमा एक हजार जना नेपाली लैजाने भएको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउने छन् । मन्त्रिपरिषद्को बैठकले इजरायलमा नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिकालाई पारित गरेपछि विभागले कामदार पठाउने प्रक्रिया सुरु गरेको हो । निजी क्षेत्रमा संलग्नतामा कामदार भर्ना गर्दा कामदारमाथि ठूलो आर्थिक शोषण भएको भन्दै नेपाल र इजरायलबीच गत ३० सेप्टेम्बरमा सरकारी संयन्त्रमार्फत नै भर्ना गर्ने गरी श्रम सम्झौता भएको थियो । इजरायलको भर्ना प्रक्रियामा निजी क्षेत्र (म्यानपावर कम्पनी)को संलग्नता छैन । कामदार छनोट र भर्ना प्रक्रियामा नेपालको तर्फबाट वैदेशिक रोजगार विभाग र इजरायलको तर्फबाट पपुलेसन एण्ड इमिग्रेसन अथोरीटी (पीआईबीए)को संलग्नता रहनेछ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीका अनुसार विभागभित्रै इजरायल हेर्ने छुट्टै संयन्त्रमार्फत काम भइरहेको छ । उनले अब जाने कामदारले रोजगारदाताको घरभित्रै रहने गरी नभई स्याहार केन्द्रमा काम गर्नुपर्ने बताए । यसअघि रोजगारदाताकै घरमै बसी काम गर्ने गरी कामदारलाई लैजाने गरिएको थियो । सरकारले इजरायल जानका लागि कामदारको मापदण्ड तोकेको छ । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल भएको हुनुपर्नेछ । इजरायलको स्थानीय भाषालाई बाध्यकारी बनाइएको छैन । अंग्रेजी भाषाको ज्ञान भए पुग्नेछ । कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभिङसम्बन्धी तीन महिनाको तामिलप्राप्त गरेको व्यक्ति उम्मेदवार हुन पाउने विभागले जनाएको छ । तर, इजरायलमा काम गरी फर्केका र बुबाआमा, पतिपत्नी, छोरा वा छोरी इजरायलमा बसोबास वा काम गरेकाका परिवारका सदस्य भने जान पाउने छैनन् । लागूपदार्थ वा मादक पदार्थ दुव्र्यवसनमा लागेको व्यक्ति पनि छनोट मापदण्डभित्र पर्ने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here