आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन

0
115

आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । धर्मशास्त्रमा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरुपी श्ययामा शयन गरेर भगवान् श्रीहरि जागा भएको दिन ।
यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि (विष्णु)को विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ । आजको दिनमा विधिविधान र पूजापाठ गरी व्रत बसेर तुलसीको विवाह गर्ने प्रचलन समेत रहेको छ ।
धर्मशास्त्रका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुन्छ । यसरी शयन गरेका भगवान् विष्णु (हरि) लाई ‘उत्तिष्ठोतिष्ठ गोविन्द त्यज निद्रां जगत्पते । त्वयि सुप्ते जगत्सुप्तमुत्थिते चोत्थितं जगत् ।।
अर्थात् हे गोविन्द (विष्णु) भगवान्, हजुरले निद्रा छोडेर उठ्नुपर्यो । किनकि हजुरको सुताइमा संसार नै सुत्छ र हजुर जागा हुँदा यो चराचर जगत् नै उठ्छ (सक्रिय हुन्छ) । अतः हजुर उठ्नु पर्यो । यो मन्त्रले पूजा गरेर भगवान् विष्णुलाई उठाएपछि दामोदर (विष्णु) भगवानासंग घरअगाडि मठमा सारिएको तुलसीको विवाह गर्ने विधान छ ।
अरू एकादशीहरूको भन्दा हरिबोधिनी एकादशीको महत्व बढी भएको धर्मशास्त्रमा उल्लेख गरिएको छ । एकादशी महात्म्यमा वर्णन गरिएअनुसार आषाढ शुक्लपक्षको एकादशीदेखि चतुर्मास्यव्रत प्रारम्भ गरिन्छ भने कार्तिक शुक्ल पक्षको एकादशी व्रत सम्पन्न भएपछि विधिपूर्वक पारण गरी उक्त व्रत समापन गरिन्छ । सबै एकादशीभन्दा हरिबोधिनी एकादशी ठूलो भएकाले यो एकादशीलाई ठूली एकादशी पनि भन्ने गरिएको पण्डित नीलकण्ठ आचार्यले बताए ।
पं आचार्यका अनुसार सबै पाप एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन् । व्रत बस्दा मुख्यरुपले शारीरिक अवस्था विचार गर्नुपर्दछ । एकादशी व्रतले मन, वचन र कर्मको एकाकार गरी आफ्नो कर्तव्य सबल भएर अगाडि बढ्न सिकाउने हुँदा एकादशीको व्रत लिनुपर्ने धर्माचार्यहरूको भनाइ रहेको छ ।
हरिबोधिनी एकादशी, भगवान् विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइने पर्व हो । व्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन् । हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ । असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here