आज दल दर्ताको अन्तिम दिन

0
8

काठमाडौँ – आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदैछ । सरकारले चुनावको मिति घोषणा गरेलगत्तै आयोगले गएको साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो । यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिन आयोगमा दल दर्ता गर्नुपर्छ । आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका छन् । तीमध्ये चुनावमा भाग लिन हिजोसम्म आयोगमा ६२ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रमुख दलमध्ये नेपाली कांग्रेस भने अहिलेसम्म पनि आयोगमा दर्ता भएको छैन । दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युटलगायतका कागजात पेस गर्नुपर्छ । नेपालको संविधानको धारा २७१ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । यता प्रमूख सत्ताघटक दल नेपाली कांग्रेसले आज दल आयोगमा दर्ता गर्ने भएको छ । कांग्रेसका अनुसार आज दिउँसो आयोग गएर दल दर्र्ता गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here