आज कुशे औँशी, बुबाको मुख हेर्ने दिन

0
14

काठमाडौँ – भाद्रकृष्ण औँशीका लागि आज घर–घरमा पवित्र कुश भित्र्याएर कुशे औँसी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बी वर्षभरि घर–घरमा गर्ने देवकार्य एवं पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा भित्र्याएर पूजा गर्ने चलन छ। आजका दिन बिहानै पूरोहितले मत्रोच्चारणसहितको कुश यजमानकहाँ पुर्‍याउने र यजमानले पूरोहितलाई यथासक्य सिदा दान गर्ने गरिन्छ । घरमा कुश राख्नाले परिवारमा सुख शान्ति र समृद्धि हुने धार्मिक विश्वास छ । वैदिक हिन्दू धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा गर्ने गर्छन् । यसैबीच आजकै दिन छोराछोरीले आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवस समेत भनिन्छ । पितृदेवो भवः भन्ने शास्त्रीय मान्यता अनुशरण गर्दै आजको दिन बाबुलाई मीठो मसिनो खान दिएर दिने र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने चलन छ। काठमाडौँको उत्तरपूर्वी भेगस्थित बाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर र रसुवाको वेत्रावती लगायतका स्थानमा आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्नेको भीड नै लाग्ने गरेको छ । आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here