आईसीयूमा उपचार गर्दागर्दै युवकलाई उठाएर दशदान वैतरणी गराउन देवघाट पुर्‍याइयो

0
112

चितवन – चितवन मेडिकल कलेजको आईसीयूमा उपचाररत एक जना युवकलाई परिवारका सदस्यहरुले देवघाट लगेर दशदान वैतरणी गराएका छन् । सवारी दुर्घटना परी घाइते भएका मकवानपुरको हेटौंडा उपमहानरपालिका–८ कमाने निवासी ३४ वर्षीय दिनेश खतिवडालाई परिवारले उपचार गर्दागर्दै अस्पतालबाट निकालेर देवघाट लगेका हुन् ।
आफन्त ईश्वरी अधिकारीका अनुसार उनलाई देवघाटमा लगेर दशदान वैतरणी गरिएको छ ।
गत १४ कात्तिकमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका खतिवडालाई राति ९ बजेर ५० मिनेटमा चितवन मेडिकल कलेजमा ल्याइएको थियो । प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ चौकीटोलमा ना ६ ख ४४५ नम्बरको ट्याक्टरले, प्रदेश ३–००४ प १५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको टाउकोमा गम्भिर चोट लाग्नुका साथै दायाँ हात भाँचिएको छ । चिकित्सक डा. अजित श्रेष्ठका अनुसार सोही दिन टाउकोको अप्रेसन गरेर आईसीयूमा राखी उपचार भैरहेको थियो ।
अस्पतालले बिरामीको अवस्था गम्भीर रहेको बताउँदाबताउँदै चिकित्सकको अनुमतिविपरित घाइते खतिवडाका दाजु शम्भु खतिवडाले बिरामीको थप उपचार गर्न नसक्ने र परेको आफैंले व्यहोर्ने भन्दै कात्तिक १९ गते बुधवार दिउँसो करिब २ बजे बिरामी निकालेर देवघाट लगेका थिए । ‘बुबाआमा वृद्धवृद्धा हुनुहुन्छ, भाइ अपाङ्ग हुने भो, यसलाई कसले हेर्छ, उपचार गर्न सक्दिनँ, मेरो रिक्समा घर लैजान्छु भनेर दबाब दिएपछि अस्पतालले बिरामी पठाएको हो,’ अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले भने ।
अस्पतालबाट दिउँसो बिरामी देवघाट लगेपछि उनीहरुले बिरामी जिउँदै रहेको भन्दै बुधवार राति ८ः४५ बजे पुनः चितवन मेडिकल कलेजमा ल्याएका थिए । बिरामीको अवस्था अति नै जटिल रहेको र अस्पतालमा भेन्टिलेटर तत्काल उपलब्ध नभएको भन्दै त्यहाँबाट फर्काइएका ती बिरामीको हाल पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

Source :- newssewa

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here